शुद्धोधनमा शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया

मेचीकाली संवाददाता

२० आश्विन २०७८, बुधबार
374 shares

नगेन्द्र केसी
भुजौली । शुद्धोधन गाउँपालिका–६ गुरौलिया माविको भवनमा स्थानीय सामुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रमअन्तर्गत शिक्षाको अधिकारको सवालमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरुले विद्यालयमा विद्यार्थीहरुको संख्या बढ्दै गएको तर विद्यालयमा शिक्षकहरुको अभावले विद्यालय सञ्चालन गर्न गाह्रो भएको, अनुदान करारका शिक्षकहरूको तलबमा धेरै कमी भएको, विद्यालय व्यवस्थापनमा पनि कमीकमजोरी रहेको र शिक्षा क्षेत्रमा स्थानीय सरकारले ध्यान नदिएको गुनासो गरेका थिए ।

उक्त कार्यक्रममा सामाजिक विकास संयोजक तथा गाउँपालिकाका प्रवक्ता राजेन्द्र कँडेल र वडा नं ६ का वडा अध्यक्ष जयशंकर पाठकले उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै स्थानीय सरकारले पाठ्यक्रममा पाठ्यपुस्तक निकाल्ने कार्य भैरहेको र गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै चासो लिएको बताए । कोरोनाका कारणले गर्दा काम गर्न केही कठिनाई भइरहेको र अहिले गाउँ पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजना तथा शुद्धोधन गाउँपालिका–६ कोे सहयोगमा भएको कार्यक्रममा मानवअधिकार समूह शुद्धोधनका अध्यक्ष जगत सापकोटाको अध्यक्षता, सामाजिक विकास संयोजक तथा गाउँपालिका प्रवक्ता राजेन्द्र कँडेलको प्रमुख आतिथ्यता, वडा नं ६ का अध्यक्ष जयशंकर पाठकको विशिष्ट आतिथ्यता रहेको थियो ।

मानवअधिकार समूह शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष कपिल अर्यालको स्वागत मनतव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मोती थापाले गरेका थिए ।