रुपन्देही उद्योग संघको निर्वाचनका लागि माधव पौडेलको नेतृत्वमा साझा प्यानल घोषणा

मेचीकाली संवाददाता

२० आश्विन २०७८, बुधबार
402 shares

बुटवल । रुपन्देही उद्योग संघको आगामी नेतृत्वका लागि माधवप्रसाद पौडेलको नेतृत्वमा साझा प्यानल तयार भएको छ । हाल वरिष्ठ उपाध्यक्ष रहेका पौडेलको नेतृत्वमा विभिन्न राजनीतिक दलमा आस्था राख्ने उद्योगी, उद्यमीहरुको साझा प्यानल घोषणा भएको हो ।

उद्योग संघमा हाल साझा प्यानलका लागि घोषणा गरिएको समूहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकटका उद्योगीहरु रहेका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उद्योगी पौडेलले सबैलाई समेटर, मिलाएर र सहकार्य गरेर संघको नेतृत्व गर्ने प्रतिबद्धता गरेका छन् ।

संघको आगामी कार्यकालका लागि अध्यक्षमा पौडेलसहित वरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्लेको साझा उम्मेदवारका रुपमा घोषणा गरिएको छ । सापकोटा हाल प्रथम उपाध्यक्ष हुन् भने पराजुली द्वितीय उपाध्यक्ष र काफ्ले महासचिवका रुपमा संघमा नेतृत्व गरिरहेका छन् । उनीहरु सबैको साझा धारणाका रुपमा पौडेलको नेतृत्वमा नयाँ जिम्मेवारीको घोषणा भएको हो ।

त्यसैगरी संघको महासचिवमा हालका कोषध्याक्ष हरीबहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हिरामणी भटराईलाई साझा उम्मेदवार बनाइने भएको छ । यस्तै संघको सचिवमा हाल कार्यसमिति सदस्य रहेका बसन्त ढकाललाई साझा उम्मेदवारका रुपमा अगाडि सारिने भएको छ । महिलामा मन्जु भुसाललाई प्रस्ताव गरिएको छ । त्यसैगरी सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीलाई प्रस्ताव गरिएको छ ।

यसका साथै एसोसिएटतर्फ सुमन बस्याल र तुल्सी गुरुङ, आजीवन सदस्यतर्फ माधव नेपाल, संस्थागत सदस्यतर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा, बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली रहने घोषणा गरिएको छ । संघमा रहेको खुल्लातर्फका सदस्यहरुमा प्रेम आले, लालप्रसाद बस्याल, राजु घिमिरे, बलबहादुर गोदार, चन्द्रकान्त खनाल, गोविन्द भुसाल, लालबहादुर थापा र नेत्र रुचाल रहेका छन् भने बुटवल उपमहानगरपालिका क्षेत्रबाट लालहरी पाण्डे र जमुना पोखरेल, तिलोत्तमा नगरपालिकाबाट विशाल बेल्वासे, शुद्धोधन गाउँपालिकाबाट रमेश खनाललाई सर्वसम्मत रुपमा प्रस्ताव गरिएको छ ।

रुपन्देही उद्योग संघको ४३ औँ साधारणसभा तथा २२ औँ अधिवेशन यही असोज २३ गते हुनेछ । संघको आगामी नेतृत्व साझा बनाउनका लागि पहल गर्न पूर्वअध्यक्ष एजाज आलम, बोनीन पियाँ र निवर्तमान अध्यक्ष गणेश अधिकारीलाई जिम्मेवारी दिइएको संघका अध्यक्ष बाबुराम बोहोराले बताए ।

साझा उम्मेदवारको रुपमा प्रस्तावीत पौडेलले आफूले सबै उद्योगी व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताए । ‘निश्चित पद र आकांक्षी धेरै हुँदा सबै साथीहरु पदीय हिसाबले समेटिन सक्नुभएन तर सबैलाई उद्योग संघमा क्रमशः भूमिका दिएर समेटिने छ ।’ पौडेलले भने । रुपन्देही उद्योग संघले कायम गरेको प्रतिष्ठा उद्योगीहरुको आशा र भरोसासहित समाजिक सेवामा अग्रसर रहने पौडेलले बताए ।

संस्थागत हीत र विकासका सबालमा राजनीतिक आस्थाका विषयलाई गौण बनाएर सबै एक ठाउँमा उभिने वातावरण बनाउन सकेको वर्तमान अध्यक्ष बोहोराको भनाइ छ । उद्योग क्षेत्रमा रहेका तमाम समस्याहरुको समाधान गर्न, चुनौतीहरुलाई चिर्न, सम्भावनालाई साकार पार्न र राज्यले संकल्प गरेको समृद्धिमा योगदान दिन जरुरी रहेको वर्तमान अध्यक्ष बाबुराम बोहोराको भनाइ छ ।

उनले संघको समग्र हितका लागि साझा पहलको खाँचो रहेको र त्यो पूरा गर्न आफुहरु केन्द्रित रहेको बोहोराले बताए । रुपन्देही उद्योग संघको विशिष्ट पहिचान बनाउन लागेको र रुपन्देहीको आर्थिक क्षेत्रमा विशेष योगदान दिन अतूर रहेको अध्यक्ष बोहोराको भनाइ छ ।

विसं. २०३५ मंसिर १५ गते स्थापना भएको संघमा हाल करिब एक हजार दुई सय उद्योगी सदस्य रहेका छन् । संघमा फर्निचर उद्योग संघ, वन पैदावर उद्योग संघ, ईटा उद्योग संघ, औद्योगिक क्षेत्र उद्योग संघ, मुद्रण उद्योग संघ, बेकरी उद्योग संघ र क्रसर उद्योग संघ संस्थागत सदस्यका रुपमा स्थापना भएका छन् ।