भान्सामा पुग्दै ‘मन्द विष’, हरियो तरकारीमा अत्यधिक विषादी

मेचीकाली संवाददाता

२७ श्रावण २०८३, बुधबार

रमेश पराजुली

बुटवल । नेपाली समाजमा भनिन्छ, भान्सा नै ‘औषधालय’ हो । प्रायः रोगहरुको रोकथाम स्वस्थ खानपान हो तर पछिल्लो समय नेपाली भान्सामा तरकारी र फलफूलको नाममा दिनदिनै ‘मन्द विष’ पुगिरहेको छ । तपाईंले खाने तरकारी तथा फलफूल के साँच्चै विषादीरहित र खानयोग्य छन् त ? पछिल्लो समय बुटवलमा विक्रीका लागि आउने हरियो तरकारीमा मानव स्वास्थ्यलाई गम्भीर असर पु¥याउने विषादीको मात्रा अत्यधिक भेटिनेक्रम दोहोरिँदा उपभोक्ताले तरकारी किन्नुअघि एकपटक सोच्नुपर्ने अवस्था देखिएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलमा परीक्षण गर्दा खान अयोग्य विषादीको मात्र प्रायःजसो भेटिँदै आएको छ । मंगलबार हरियो तरकारी तथा फलफूलको नमुना परीक्षण गर्दा डल्ले खुर्सानीमा अत्यधिक विषादी पुष्टि भयो । पाल्पाको रिब्दीकोट गाउँपालिकाबाट ल्याइएको ५० किलो हरियो डल्ले खुर्सानीमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ४९.९१५ प्रतिशत भेटिएको हो । ५० किलो खुर्सानीमध्ये ३२ किलो खुर्सानी बिक्री भइसकेको थियो भने बाँकी रहेको १८ किलो खुर्सानी बुटवल उपमहानगरसँगको समन्वयमा नष्ट गरिएको छ ।
यसअघि साउन ५ गते सल्यानको कपुरकोट गाउँपालिकाबाट आएको हरियो खुर्सानीमा पनि अर्गानोफस्फेट समूहकै विषादीको मात्रा ५९.५२ प्रतिशत भेटिएपछि नष्ट गरिएको थियो । गत जेठ २२ गते पनि रुपन्देहीको मर्चवारी गाउँपालिकाबाट ल्याइएको काउलीमा समेत विषादीको मात्रा ८०.८९ प्रतिशत भेटिएको थियो भने धादिङबाट आएको तने बोडी र चितवनबाट आएको काँक्रोमा पनि अत्यधिक विषादी भेटिएपछि ५०० किलो काँक्रो नष्ट गरिएको थियो ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीका अनुसार सामान्यतः कुनै पनि तरकारीमा कार्बामेट र अर्गानोफस्फेट समूहको विषादी मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै खान योग्य मानिन्छ । ‘विषादीको मात्रा ३५ प्रतिशतदेखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरी खान मिल्ने र विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी देखियो भने त्यसलाई खान योग्य मानिँदैन र नष्ट गर्नुपर्छ’ उनले भने ।

हरेक दिन थोक बजारमा आउने तरकारी तथा फलफूलको बिहानै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले नमुना संकलन गरी परीक्षण गर्दै आएको छ । तर, बुटवलको थोक बजारभन्दा बाहिरबाट बिक्री हुने तरकारीमा विषादी परीक्षण हुन सकेको छैन । विषादीले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जानकारी हुँदाहुँदै पनि पछिल्लो समय किसानले छिटो उत्पादन गरी धेरै आम्दानी गर्ने उद्देश्यले तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग गर्ने गरेको प्राविधिक सहायक भण्डारीले बताए ।

बुटवलमा विभिन्न तराई तथा पहाडी जिल्लाबाट ठुलो मात्रामा हरियो तरकारी आउने गर्छ । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष तथा रासायनिक विषादी न्यूनीकरण अभियान्ता हुमाकान्त काफ्लेले विषादीको अवैध प्रयोगबारे नियमन एवं प्रभावकारी अनुगमन हुन नसक्दा तरकारी र फलफूलको विषले किसानदेखि उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याएको बताए । ‘बढी फलाउने, किरा लाग्न नदिने सोचाइका साथ विषादीको प्रयोग बढ्दो छ । कुन विषादी कति मात्रामा प्रयोग गर्ने, विषादी प्रयोग गरेपछि कति दिन पर्खिएर बजारमा लैजाने भन्ने छ तर नेपाली बजार र किसानलाई त्यो ज्ञान छैन,’ काफ्ले भन्छन्,‘बजारमा राम्रो मूल्य पाइने अवस्था देखिएपछि किसानले आज विषादी छरेको तरकारी भोलि वा पर्सिपल्टै टिपेर बजार पठाइरहेका छन् । यो निकै डरलाग्दो अवस्था हो । किसानलाई पर्खिनुपर्ने समय (वेटिङ पिरियड) बारे व्यापक सचेतना आवश्यक छ ।’

तरकारीमा अहिले पनि अर्गानोफस्फेट र कार्बामेट समूहका विषादी प्रयोग भइरहेको देखिन्छ । उनका अनुसार यी दुवै समूहका विषादीलाई सरकारले करिब डेढ वर्षअघि नै प्रतिबन्ध लगाएको थियो । ‘बजारमा पठाइसकेका र खुला सीमाका कारण अझै पनि लुकिछिपी यस्ता विषादी बिक्री र प्रयोग भइरहेको देखिन्छ,’ काफ्ले भन्छन् ,‘अक्टोबरपछि नेपालमा यी दुवै समूहका विषादी प्रयोग पाइने छैन ।’ विषादीको प्रकृतिअनुसार तरकारी तथा फलफूलमा ३ देखि ९० दिनसम्म विषादीको अवशेष रहने उनले बताए । ‘सरकारले सिफारिस गरेका विषादी प्रयोग गर्नु मात्रै समस्या होइन ।’ काफ्ले भन्छन्,‘विषादी छरेपछि कम्तीमा १४ देखि २१ दिनसम्म पर्खिनुपर्ने हुन्छ ।’ ‘धेरैजसो विषादीको अवशेष तरकारीमा एक सातासम्म रहन्छ । बेमौसमीको तुलनामा मौसमी तरकारी तथा हेर्दा आकर्षक, ताजा देखिने र टलक्क टल्किने तरकारीभन्दा अलिअलि ओइलिएको तरकारीमा कम विषादी हुने काफ्लेले बताए । ‘हेर्दा राम्रो देखिने भएपनि विषादीको सम्भावना त्यस्तै तरकारीमा बढी हुन्छ । अलिअलि किरा लागेको, ओइलिएको तरकारीमा विषादीको अवशेष कम हुन्छ,’उनले भने । उपभोक्ता थोरै सचेत हुने हो भने पनि विषादीको असरबाट बच्न सकिने काफ्लेको भनाइ छ । बजारबाट तरकारी किनेर ल्याएपछि कम्तीमा २० देखि २५ मिनेटसम्म मनतातो पानीमा नुन, सोडा, कागती हालेर डुबाइदिनुपर्छ । पानीमा डुबाएपछि तरकारीमा भएको ९० प्रतिशतभन्दा बढी विष पानीमा निस्किन्छ । त्यसपछि पुनः धारा वा बग्दो सफा पानीमा राम्रोसँग पखालेर प्रयोग गर्न सकिने काफ्ले बताउँछन् ।

काचै खाने तरकारीहरु, मुला, गाजर, साग, काँक्रोमा पनि विषादी बढी हुने भएकालेले यस्ता वस्तु पनि पानीमा राम्रोसँग धोइ पखाली कम्तीमा आधा घण्टा नुन पानीमा डुबाएपछि मात्र प्रयोग गर्न उनी सुझाउँछन् । निम, बकाइनो, गाईको गहुत, साबुनपानी, खरानी पानी, मही, भेली तथा बोझोजस्ता जैविक विकल्प प्रयोग गरेर पनि रोग किरा नियन्त्रण गर्न सकिने भएकाले त्यसतर्फ किसानलाई प्रोत्साहित गर्नुपर्ने काफ्लेले बताए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले किसानलाई विषादी प्रयोगसम्बन्धी तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरिए पनि त्यसको प्रभाव व्यवहारमा अपेक्षित रूपमा देखिन नसकेको बताइन् । ‘हामीले विषादीको अनुगमनसँगै अर्गानिक तरकारी उत्पादनलाई प्रोत्साहन, किसानलाई विषादी प्रयोगसम्बन्धी तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ,’ उपप्रमुख अर्यालले भनिन्,‘अब विद्यार्थी, समाज र घरमा खाना बनाउने दिदीबहिनी तथा आमाहरूलाई विषादीबाट कसरी बच्ने भन्ने विषयमा सिकाउन अभियान नै सञ्चालन गर्नुपर्ने देखिएको छ ।’

अनुगमनका क्रममा मौसमीभन्दा बेमौसमी तरकारीमा विषादीको मात्रा बढी हुने गरेको उनको भनाइ छ । उत्पादन बढाउने उद्देश्यले रासायनिक मल र विषादीको अत्यधिक प्रयोग हुँदा माटोको उर्वराशक्ति घट्ने तथा उत्पादन प्रणालीमै नकारात्मक असर पर्ने भएकाले पालिकाले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको उपप्रमुख अर्यालले बताइन् ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले नमुना परीक्षण गर्दा विषादी बढी भएको तरकारी नष्ट गरेर मात्र नपुग्ने बताए । उनका अनुसार विषादी छरेपछि पर्खिनुपर्ने समय पूरा नगरी बजारमा उत्पादन पठाउने किसान तथा व्यवसायीलाई कानूनअनुसार कारबाही गर्न आवश्यक छ । ‘उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गर्ने किसान तथा व्यवसायीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ ।’ अध्यक्ष जिसीले भने ।
विषादीको प्रयोग न्यूनीकरणसँगै उपभोक्तालाई सुरक्षित तरकारी तथा खाद्यवस्तु उपभोगबारे सचेत बनाउन पनि स्थानीय सरकाले विशेष अभियान सञ्चालन गर्नुपर्ने उनले बताए । ‘बजारमा उपलब्ध तरकारीप्रति उपभोक्ताको विश्वास घट्दै गएको छ,’ उनले भने, ‘बुटवलमा दैनिक परीक्षण गर्दा यस्तो अवस्था देखिन्छ भने परीक्षण प्रयोगशाला नै नभएका स्थानमा स्थिति कस्तो होला भन्ने गम्भीर प्रश्न उठेको छ ।’ उनले उपभोक्तालाई तरकारी प्रयोग गर्नुअघि नुनपानीमा डुबाउने, सफा पानीले राम्ररी धुने र फ्रिजमा राखेर प्रयोग गर्न सुझाव दिए ।

विज्ञहरूका अनुसार विषादीको दुरुपयोग अब केवल कृषि क्षेत्रको समस्या मात्र नभई जनस्वास्थ्य, वातावरण र खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय चुनौतीका रूपमा देखिन थालेको छ । कृषकले मनलाग्दी विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा तत्काल र दीर्घकालीन दुवै प्रकारका असर पु¥याउने चिकित्सकहरु बताउँछन् । तत्काल देखिने असरमा टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने, रिंगटा लाग्ने, मूच्र्छा पर्ने, अत्यधिक थकान महसुस हुने, छालामा फोका आउने, आँखा रातो हुने तथा धमिलो देखिने समस्या पर्छन् । हानिकारक विषादीले दीर्घकालीन रूपमा क्यान्सर, प्रजनन क्षमतामा कमी, बाँझोपन, श्वासप्रश्वाससम्बन्धी रोग, शारीरिक विकासमा असर, पक्षघात, वंशाणुगत परिवर्तन, ट्युमर तथा मानसिक असन्तुलनजस्ता समस्या देखिन सक्छ ।