स्वास्थ्य जाँचमा बढ्दैछ जागरुकता

–पुरुषमा प्रोस्टेट, महिलामा स्तन–पाठेघरको समस्या

मेचीकाली संवाददाता

२ भाद्र २०८३, मंगलवार
लाइन नबसी पालो आउँदैनः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य परीक्षणका लागि टिकट काउन्टरमा टोकन लिने लाइनमा बसेका सर्वसाधारणहरू । तस्बिरः अमृत गिरी

अमृत गिरी

बुटवल । बुटवलका अस्पताल तथा निजी स्वास्थ्य संस्थामा पछिल्लो समय पुरुषमा प्रोस्टेट तथा महिलामा स्तन, पाठेघर र थाइराइडसम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्दो छ । चिकित्सकहरूका अनुसार यसको कारण रोगको वृद्धि मात्र नभई स्वास्थ्य सेवाको पहुँच, परीक्षण सुविधा र स्वास्थ्यका बारेमा धेरै जसोमा आवश्यक जनचेतना बढ्नु पनि हो ।

बुटवल–११ देवीनगर माझगाउँका ६२ वर्षीय पुरुष केही समयदेखि बारम्बार पिसाब लाग्ने, पिसाब पूरा ननिस्किएको महसुस हुने र पोल्ने समस्या बेवास्ता गर्दै आएका थिए । एक रात अचानक पिसाब बन्द भएपछि अस्पताल पुगे । परीक्षणपछि प्रोस्टेट बढेको पत्ता लाग्यो । क्याथेटरमार्फत पिसाब निकालेर उपचार सुरु गरियो । चिकित्सकले भविष्यमा शल्यक्रिया आवश्यक पर्न सक्ने बताएका छन् ।

बुटवलका युवा युरोलोजिस्ट डा.पवन धिताल भने समस्याका बारेमा जानकारी बढेको, सचेतना बढेको र मानिसमा स्वास्थ्यप्रतिको जागरुकता बढेको बताउँछन् । सचेतना बढ्दै गएपछि उपचारका लागि, चेकजाँचका लागि अस्पतालमा आउनेको संख्या पनि बढिहाल्ने उनको भनाइ छ ।
युरोलोजिस्ट डा.धितालका अनुसार उमेर बढ्नु, स्वास्थ्य सेवामा पहुँच विस्तार हुनु, परीक्षण सुविधा थपिनु र स्वास्थ्यप्रतिको सचेतना बढ्नुले यस्ता बिरामीको संख्या बढेको देखिन्छ ।

तर पिसाब बन्द हुनुको कारण प्रोस्टेट मात्र नभई संक्रमण, पत्थरी, मूत्रनली साँघुरिनु, केही औषधी, कब्जियत वा स्नायु प्रणालीको समस्यासमेत हुन सक्छ । यस्तो अवस्थामा तत्काल स्वास्थ्य संस्थामा पुग्न जरुरी रहेको डा.धिताल बताउँछन् ।

प्रोस्टेटसँगै क्यान्सरको जोखिम
उमेरसँगै पुरुषमा बिनाइन प्रोस्टेटिक हाइपरप्लासिया (बिपिएच) अर्थात् प्रोस्टेट ग्रन्थी बढ्ने समस्या सामान्य बन्दै जाने चिकित्सकहरु बताउँछन् । पिसाबको धार कमजोर हुनु, पटकपटक पिसाब लाग्नु, राति धेरैपटक उठ्नु र पिसाब पूरा ननिस्कनु यसका प्रमुख लक्षण मानिन्छ ।
चिकित्सकका अनुसार बिपिएच क्यान्सर होइन तर उमेर र पारिवारिक इतिहास प्रोस्टेट क्यान्सरका महत्वपूर्ण जोखिम हुन् । रेडियोलोजिस्ट डा.प्रशान्त आचार्यले ५० वर्ष नाघेका पुरुष तथा पारिवारिक इतिहास भएका व्यक्तिलाई असामान्य लक्षण देखिए चिकित्सकीय परामर्श लिन सुझाव दिएका छन् ।

मुलुकमा प्रोस्टेट क्यान्सरको अवस्था पनि चिन्ताजनक देखिएको हालैको एक अध्ययनले देखाएको भन्दै पवमेट सेन्ट्रलले तथ्यांक सार्वजनिक गरेको थियो । पेबमेट सेन्ट्रल (पिएमसी) को अध्ययनअनुसार सन् १९९० देखि २०२१ बिच प्रोस्टेट क्यान्सरको उमेरअनुसारको भार र व्यापकता दर ११० प्रतिशतले बढेको छ । विशेषगरी ६०–६५ वर्ष उमेर समूहमा जोखिम उल्लेखनीय देखिएको छ ।

महिलामा स्तन र पाठेघरको समस्या
गुल्मी छत्रकोट दिगामबाट बुटवल आएकी ४८ वर्षीया महिलामा घाँटीमा केही अड्किएजस्तो हुने, स्तन दुख्ने र महिनावारी गडबडीको समस्या थियो । स्तन दुख्दैमा क्यान्सर हुँदैन । हार्मोनल परिवर्तन, महिनावारी, संक्रमण वा चोटपटकले पनि दुख्न सक्छ ।
तर नयाँ गाँठो, स्तनको आकार वा छालामा परिवर्तन तथा निप्पलबाट असामान्य रक्तस्राव वा स्राव देखिए परीक्षण आवश्यक हुन्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ भक्त बत्सल राउतले यस्ता परिवर्तन बेवास्ता नगर्न सुझाव दिएका छन् ।

पाठेघर झर्ने, फाइब्राइड, असामान्य रक्तस्राव, संक्रमण, एन्डोमेट्रियोसिसदेखि पाठेघरको मुखको क्यान्सरसम्मका समस्या महिलामा देखिन्छन् । विशेषगरी ग्रामीण महिलामा लामो समय भारी काम गर्नु, धेरैपटक गर्भधारण गर्नु र प्रसूतिको समयमा पर्याप्त स्वास्थ्य सेवा नपाउनु पाठेघर झर्ने समस्याका कारण बन्न सक्ने विशेषज्ञको भनाइ छ ।

पाठेघरको मुखको क्यान्सर भने धेरै हदसम्म रोकथाम गर्न सकिने क्यान्सर हो । सन् २०२२ मा नेपालमा करिब २,१६९ नयाँ केस र १,३१३ मृत्यु भएको अनुमान छ । एचपीभी संक्रमणसँग सम्बन्धित यो क्यान्सरविरुद्ध नेपालले सन् २०२५ मा देशव्यापी खोप अभियान सञ्चालन गर्दा १०–१४ वर्षका १४ लाख ६० हजारभन्दा बढी बालिकाले खोप पाए । सन् २०३० सम्म ९० प्रतिशत बालिकालाई एचपिभी खोप र ३०–४९ वर्षका कम्तीमा ९० प्रतिशत महिलालाई स्क्रीनिङमा पु¥याउने लक्ष्य छ ।

दक्षिण एसियामा बढ्दो युरोलोजी रोग
मिर्गौला तथा मूत्रनलीको पत्थरी, मूत्रमार्ग संक्रमण (यूटिआई), प्रोस्टेट वृद्धि र प्रोस्टेट क्यान्सर दक्षिण एसियामा बढ्दो युरोलोजी समस्याका रूपमा देखिएका छन् । जिबिडीमा आधारित अध्ययनहरूले यस क्षेत्रमा युरोलोजी रोगको ठुलो भार देखाएका छन् । अमेरिकन युरोलोजिकल एसोसिएसन (एयूए) ले भारत, बंगलादेशलगायत देशमा शिक्षा, तालिम, अनुसन्धान र चिकित्सकीय ज्ञान आदानप्रदान विस्तार गरिरहेको छ ।
हामीकहाँ भने समस्या रोगको भारमा मात्र सीमित छैन । लक्षणलाई सामान्य ठान्ने, समयमै विशेषज्ञ सेवा नपाउने र ग्रामीण क्षेत्रमा परीक्षणको पहुँच सीमित हुनु पनि चुनौती हो । प्राथमिक स्वास्थ्य केन्द्रमै पिसाब परीक्षण, आवश्यक रक्त परीक्षण र प्रारम्भिक जोखिम पहिचानको व्यवस्था बलियो बनाउन सके धेरै रोग सुरुमै पहिचान गर्न सकिने देखिन्छ ।

कुल मृत्युको ७१.१ प्रतिशत नसर्ने रोगका कारण हुने सरकारी तथ्याङ्क छ । शहरीकरण, बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मोटोपना, सुर्तीजन्य पदार्थ र मदिराको प्रयोगले यसको जोखिम बढाइरहेका छन् ।

रोग लागेपछि मात्र होइन, जोखिम देखिनुअघि नै जाँच
नसर्ने रोगको चुनौतीसँग जुध्न रोग लागेपछि अस्पताल पुग्ने प्रवृत्तिमा मात्र भर पर्नु पर्याप्त हुँदैन । जोखिम पहिचान, जीवनशैली सुधार, आवश्यक स्क्रीनिङ र समयमै उपचारमा जोड दिनुपर्ने चिकित्सकहरू बताउँछन् ।
हो, थाहा छ क्यान्सरका सबै जोखिम हटाउन सकिँदैन । अटोइम्युन थाइराइड रोग सधैँ रोक्न सकिँदैन र उमेरसँगै आउने प्रोस्टेट परिवर्तन पनि पूर्ण रूपमा रोक्न सकिँदैन तर सुर्तीजन्य पदार्थ त्याग्ने, स्वस्थ जीवनशैली अपनाउने, एचपिभिी खोप लगाउने, आवश्यकताअनुसार स्क्रीनिङ गर्ने, पारिवारिक जोखिम बुझ्ने र शरीरमा देखिएका असामान्य लक्षणलाई समयमै जाँच गराउने हो भने धेरै गम्भीर परिणामबाट बच्न सकिने विशेषज्ञहरुको सुझाव छ । यता पञ्चगब्य विशेषज्ञ बाबा योगिराजले स्वाथ्य सावधानी, सात्विक भोजन र नियमित व्यायामले स्वास्थ्यलाई सन्तुलनमा राख्न सकिने बताउँछन् ।