मानवसेवा आश्रमका आश्रितलाई पूर्व अर्थमन्त्री पौडेलद्धारा भोजनसेवा

मेचीकाली संवाददाता

२२ आश्विन २०७८, शुक्रबार
535 shares

बुटवल । नेपाल सरकारका पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मानवसेवा आश्रम बुटवल शाखामा भोजनसेवा गराएका छन् ।

सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श र पारिवारिक पुनर्मिलन गराउँदै आएको मानवसेवा आश्रमले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा २ वटा घर भाडामा लिएर सञ्चालन गर्दै आएको छ ।

पौडेलले मानवसेवा आश्रमले गरेको काम नेपाल सरकारले गर्नुपर्ने काम भएको र यसमा मानवसेवा आश्रम नेपाल सरकारको सहयोगी बनेर अगाडी बढेको बताए । साथै उनले आफ्नो तर्फबाट गर्न पर्ने सहयोग पूर्ण रुपमा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘सहयोगापेक्षी मानिसहरुको सेवा गर्नु चुनौतीपूर्ण कार्य हो । यसमा मानवसेवा आश्रमको लागि मैले गर्न सक्ने काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’ उनले भने । वि.स २०६९ सालमा हेटौंडाबाट सुरुवात भएको मानवसेवा आश्रमको १० औँ शाखाको रुपमा लुम्बिनी प्रदेशको बुटवल शाखा सञ्चालनमा छ ।

हाल बुटवलमा घर भाडामा लिएर सञ्चालन भएको आश्रमले अपाङ्तामैत्री, बालमैत्री भवन निर्माण गरिरहेको छ । यसको लागि तिलोत्तमामा रहेको मोक्षधाम सेवा आश्रमले जग्गाको व्यवस्थापन गरेको छ ।

हाल बुटवलमा रहेको २ वटा सेवा केन्द्रमा १६० जना विभिन्न उमेर समूहका सडकपेटीबाट उद्धार गरिएका सहयोगापेक्षी व्यक्तिहरु आश्रित रहेको आश्रमले जानकारी गराएको छ ।