तुलसीराम पौडेल —–
रुपन्देही ,मंसिर ९
रुपन्देहीस्थित मायादेवी गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि पेन्सन योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
मायादेवी गाउँपालिकाको आयोजना र नागरिक लगानी कोष बुटवल शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले गर्नुभएको थियो।
मायादेवी गाउँपालिकामा ८३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत छन्। सम्पूर्ण स्वयंसेविकाहरूलाई गाउँपालिकाले पेन्सन योजना लागू गर्न लागेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले बताउनुभयो।
यो योजना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुभारम्भ गरिने पालिकाले जानकारी दिएको छ।
अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा देवी उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सहजीकरण नागरिक लगानी कोष बुटवलका प्रमुख कुमार शेरठ र अधिकृत शंकर अधिकारीले गर्नुभएको थियो।

