देउवा सरकार जुनसुकै बेला पनि ढाल्न सक्छौँ : विष्णु पौडेल

मेचीकाली संवाददाता

९ कार्तिक २०७८, मंगलवार
499 shares

बुटवल । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेले चाहे वर्तमान सरकारलाई जतिसुकै बेला ढाल्न सक्ने दावी गरेका छन् ।

पाँच दलीय गठबन्धन सरकारलाई पौडेलले तास र बालुवाको घरको संज्ञा दिए । एमाले तिलोत्तमाको नगर अधिवेशनमा मंगलवार बोल्दै नेता पौडेलले भने, ‘एमालेले चाहेमा जतिसुकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बदल्न सक्छौं । तर, हाम्रो चाहना अहिले सरकार होइन । पार्टीको संगठन निर्माण हो । हाम्रो सम्पूर्ण तागत र क्षमता संगठन निर्माणमा केन्द्रित छ ।’

आफूहरु सिंहदरबारबाट केही महिनाका लागि मात्र बाहिरिएको पौडेलको भनाइ छ । पौडेलले थपे, ‘हामी अहिले निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि कसैले चाहेर पनि हल्लाउन नसक्ने एमालेको सरकार बन्छ । स्थानीय, प्रदेश र संघमा एमालेको एकल सरकार बन्छ ।’

पार्टी विभाजनले एमालेमा कुनै क्षति नभएको पौडेलको दावी छ । ‘हामी हिजोभन्दा आज झनै शक्तिशाली भएका छौं । त्यो शक्ति आउँदो निर्वाचनबाट देखिन्छ,’ पौडेलले भने ।

एमाले विरुद्ध भइरहेका सबै प्रयासलाई नाकाम तुल्याउने गरी लाग्न कार्यकतालाई निर्देशन दिए । नेता पौडेलले अधिवेशनबाट सर्वसम्मत रुपमा सशक्त टिम चयन गर्न आग्रह समेत पौडेलले गरे ।