बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाले तिलोत्तमामा निर्माण हुँदै गरेको मानवसेवा आश्रमको भवन बनाउनका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।
सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक मिलन गर्दै आएको आश्रमले रुपन्देही जिल्ला शाखाको भवन निर्माण गरिरहेको छ । हाल बुटवल उपमहानगरपालिकाको सुख्खानगरमा घर भाडामा लिएर सञ्चालन भइरहेको आश्रमले आफ्नै संरचना निर्माण गरिरहेको हो ।
हाल भाडामा लिएका २ वटा घरमा १७० जना बढी सहयोगापेक्षी व्यक्तिहरु आश्रित हुनुहुन्छ । तर भाडामा लिएको संरचनामा आश्रमको लागि सुहाउँदो अपाङ्गमैत्री, बालमैत्री वातावरण नहुने भएकाले र आमावुवाको सहयोगका लागि प्राप्त रकम घरभाडामा सदुपयोग गर्नुपरेकोले भवननिर्माण गर्न लागेको आश्रमको लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले बताइन् ।
उक्त रकम शुद्धोधन नगरपालिकाका अपाध्यक्ष शान्तादेवी ज्ञवालीले आश्रमको लुम्बिनी प्रदेश संयोजक सरु अधिकारी र रुपन्देही जिल्ला संयोजक टिका थापालाई संयुक्त रुपमा हस्तान्तरण गरेकी हुन् ।
यसको सहजीकरण शुद्धोधन नगरपालिकाको अध्यक्ष किशुनचन्द्र चौधरी र वडा नं ४ का वडा अध्यक्ष राजेन्द्र कँडेलले गरेको अधिकारीले जानकारी गराइन् ।
गाउँपालिकाका अध्यक्षले आगामी दिनमा समेत आश्रमको सेवालाई निरन्तर साथ, सहयोग र अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।