सत्तारूढ गठबन्धन चुनावसम्म टुट्दैनः खाण

मेचीकाली संवाददाता

१४ कार्तिक २०७८, आईतवार
796 shares

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले सत्तारूढ गठबन्धन चुनावसम्म कायम रहने दाबी गरेका छन् । उनले सँगै चुनाव लड्ने संकेत गरे ।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका खाणले आइतवार आफ्नो गृहनगर रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै अहिलेको गठबन्धन चुनाव गराउने बताए । ‘अहिलेको गठबन्धन तत्काल टुट्दैन,’ खाणले भने, ‘शान्ति र स्थायीत्व कायम गर्न संविधानको कार्यान्वयन र व्यवस्था रक्षाको लागि सरकार गम्भीर छ ।’

खाणले थपे, ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुद गठबन्धन अगाडि बढेको छ ।’ कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाणले संविधानलाई सबैको स्वामित्वमा कसरी स्थापित गर्ने, संविधानको मुलधारमा नआएका राजनीतिक दलहरूलाई कसरी मूलधारको राजनीतिमा ल्याउने भन्नेमा सरकारको ध्यान रहेको बताए ।

उनले भने, ‘हामीलाई विश्वास छ, संघीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य हुनेछ, संविधान र व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित हुनेछ ।’

गृहमन्त्री खाणले बेमौसमी वर्षाका कारण आएको बाढी पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताए । त्यस अवसरमा गृहमन्त्री खाणले बाढी पहिरो तथा डुबान प्रभावितलाई राहतको लागि सरकारको तर्फबाट सम्बोधन समेत भइसकेको जानकारी गराए ।