लाफा समूहको १३ औं रक्तदान

मेचीकाली संवाददाता

१४ कार्तिक २०७८, आईतवार
383 shares

बुटवल । लाफा समूह बुटवलको आयोजनामा आइतबार १३ औं रक्तदान, आर्थिक सहयोग हस्तान्तरण तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

‘जति धेरै रगतदान, त्यति धेरै जीवनदान’ भन्ने मूल नारासहित १३ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । समूहले ६÷६ महिनाको अन्तरालमा वर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समूहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।

त्यस्तै समूहले मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष तथा राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र भण्डारीकी श्रीमती शोभा भण्डारीलाई कोभिड संक्रमणपछि निमोनिया देखिएको र हाल काठमाडौंको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकोले लाफा समूहले आफ्ना सदस्यहरुबाट ५५ हजार २ सय ५ रुपैयाँ उठाइ समूहका संरक्षक बासुदेब लामिछाने र पूर्वअध्यक्ष केशव रानाले काठमाडौं मेडिसिटी अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गरेका संरक्षक बासुदेब लामिछानेले बताए ।

त्यस्तै कार्यक्रममा बुटवल–७ मा रहेको बाजेबजै पितृ थान निमार्णको लागि ४० हजार ५ रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा नव पच्चरत्न युवा क्लब सेमलारले आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा सहभागी भई प्रथम हुने क्लबका खेलाडी सुशिल गिरी र सलिन पौवी तथा तृतीय हुने खेलाडी पुरन गाहा र विवेक न्यौपानेलाई सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठले रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागिसमेत फाइदा हुने बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि शिवनगर सामुदायिक वनका अध्यक्ष नारायणबहादुर घिमिरेले लाफा समूहले समाजमा थुप्रै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे । लाफा समूहका अध्यक्ष तारासिंह रेश्मीको अध्यक्षता, कोषध्यक्ष ज्ञानु रानाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन सचिव यशपाल चौतारेले गरेका थिए ।