बुटवलमा सिर्जनशील चित्रकला प्रदर्शनी

मेचीकाली संवाददाता

१५ कार्तिक २०७८, सोमबार
422 shares

बुटवल । बुटवलमा सिर्जनशील चित्रकला प्रदर्शनीले शैक्षिक ज्ञान प्रदान गरेको छ । सामुदायिक तथा संस्थागत विद्यालयको सहभागितामा भएको चित्रकला प्रदर्शनीको विद्यार्थीले अवलोकन गरेर ज्ञान हासिल गरेका छन् ।

त्यहाँ प्रदर्शनमा राखिएका चित्रकलाको सुक्ष्म अध्ययन गरेर सो चित्रकलाका विषयमा विद्यार्थीले जिज्ञासासमेत राखेका छन् । दुई दिनसम्म सञ्चालन भएको चित्रकला प्रदर्शनीमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कला संस्कृतिको सम्मान र संरक्षणका लागि बुटवलले नमुना कार्यको थालनी गरेको बताए ।

बुद्धावलीको बुटवलको पहिचान झल्किने रामापिथेकस, जीतगढी मणिमुकुन्द सेन उद्यान झल्किने चित्र कोरेर प्रचारप्रसार गर्न आग्रह गर्दै प्रमुख सुवेदीले त्यस्ता चित्रकलाले समाजमा रुपान्तरणको भूमिका निर्वाह गर्ने बताए । उनले नगरमा साहित्य, कला र संस्कृतिको विकास गर्न बुटवलमा विद्वत् परिषद् बनाएर काम गरिरहेको जानकारी दिँदै कला संस्कृतिको संरक्षण र जगेर्ना गर्न नसके त्यसले दिगो असर गर्ने बताए ।

बुटवल उपमहानगर भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठानअन्तर्गत गठित कला तथा अनुसन्धान विभागको संयोजन र नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीसँगको सहकार्यमा चित्रकला प्रदर्शनी भएको हो । प्रदर्शनीमा चित्रकलासम्बन्धी विषयवस्तु सुमित्रा रानाले प्रस्तुत गरेका थिए ।

उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले परिषद्को सक्रियताको प्रशंसा गर्दै संस्कार र संस्कृतिको जगेर्ना सबैको साझा भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीले संस्कार र संस्कृतिको अभावले समाजमा विग्रह ल्याउने चिन्ता व्यक्त गरे । प्रतिष्ठानका सचिव दलबहादुर गुरुङ कार्यक्रम संयोजक झविन्द्र थापा, बेनप्रसाद थापालगायलते कला र संस्कृतिका बारेमा धारणा व्यक्त गरेका थिए ।

चित्रकला प्रदर्शनीमा २० जना चित्रकारले ४० तस्वीर प्रदर्शनका लागि राखेका थिए । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको चित्रकला प्रदर्शनीमा १ हजार ६०० जनाले अवलोकन गरेको उपप्रमुख गुमादेवीले आचार्यले बताइन् ।