कपिलवस्तुमा १२ औं राष्ट्रिय जनगणनाको तयारी पुरा

मेचीकाली संवाददाता

२४ कार्तिक २०७८, बुधबार
616 shares

कपिलवस्तु । कपिलवस्तुमा १२ औं राष्ट्रिय जनगणना-२०७८ को सम्पूर्ण तयारी पुरा भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको सम्पूर्ण तयारी पुरा भएको छ ।

कपिलवस्तु सहित देशैभर भोलि विहिबार देखि मंसिर ९ गते सम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् । जिल्लामा जनगणनाको लागि सम्पूर्ण तयारी पुरा भएको जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले जानकारी दिए ।

जसका लागि कपिलवस्तुका १० पालिकामा ५ सय ८२ जना गणक खटिएको प्रमुख कुर्मीले जानकारी दिए । गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा कार्तिक १३ देखि १६ गते नै तालिम दिई सकिएको छ । दुई चरणमा गरिने जनगणनामा यसअघि कलिलवस्तुमा १ सय ३९ सुपरीवेक्षकहरुले पहिलो चरणको काम सम्पन्न गरिसकेको बताए ।

अब ती सुपरीवेक्षकहरुले निरन्तर गणकहरुको निरक्षण गर्ने कार्य गर्ने जानकारी भोलि (विहिबार) देखि दोस्रो चरणमा गणकहरुले पूर्ण विवरण सहितको तथ्यांक संकलन गर्ने प्रमुखको भनाई छ । गणकहरुले आफुलाई पायक पर्ने समयमा जनगणनाको काम गर्न सक्ने समेत बताए । नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिई सहयोग गरिदिन जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख कुर्मीले आग्रह गरेका छन् ।

गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भएकोले व्यक्तिगत विवरण सुरक्षित रहने बताए । १०–१० वर्षमा गरिने जनगणनाले देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने भएको बताउँदै नागरिकले आफ्नो दायित्व सम्झेर तथ्यांक संकलनमा सहयोग गर्नु पर्ने बताए । कपिलवस्तुमा एउटा गणकले औसतमा २ सय ११ वटा घरको तथ्याङक संकलन गर्नुपर्ने छ ।

बाणगंगामा १ सय ६ र बुद्धभूमिमा ७७ जना गणक खटिने जनगणना अधिकारी टंक प्रसाद आचार्यले जानकारी दिए । प्रश्नावली वितरण लगायतका सम्पूर्ण तयारी भईसकेको छ । यस्तै शिवराजमा ८१ र विजयनगरमा ३३ जना गणक खटिने जनगणना अधिकारी लक्ष्मी कंडेलले जानकारी दिईन् । जनगणना अधिकारी कंडेलका अनुसार शिवराजमा ३० जना र विजयनगरमा ८ जना सुपरिवेक्षक खटिएका छन् ।

उनले कुनै पनि संकोच नमानि गणकहरुलाई सत्यतथ्य वितरण उपलब्ध गराउन समेत आग्रह गरिन् । जनगणनाका लागी आवश्यक कलम, किताव, झोला, टोपीसंगै कोरोना संक्रमणबाट बच्न सेनिटाईजर, फेससिल्ड लगायतका आबश्यक सामग्रीहरु उपलब्ध गराईएको छ ।