आजदेखि देशभर जनगणनाः आफ्नो सही विवरण दिन विभागको आग्रह

मेचीकाली संवाददाता

२५ कार्तिक २०७८, बिहीबार
546 shares

काठमाडौं । राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।

आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने महानिर्देशक श्रेष्ठले बताए ।

जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान छ । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो।