दाउन्ने सडकमा सधैंको सास्ती

मेचीकाली संवाददाता

२५ कार्तिक २०७८, बिहीबार
763 shares

हरि शर्मा
परासी । बुटवलबाट काठमाण्डौं जान हिडेका प्रकाश मल्ल बुधबार राति ८ बजे बर्दघाटमा रोकिए । दाउन्नेमा भएको सडक जामका कारण उनी बिहीबार बिहान ४ बजे मात्र दुम्किवास पुगे । बर्दघाटदेखि दुम्किवाससम्मको दुरी १४ कि.मि. छ ।

उक्त दुरी पार गर्न उनले ८ घण्टाको समय खर्चिनु प¥यो । यस्तै नियती भैरहवाका ठाकुरचन्द्र केसीले पनि पाएको बताए । काठमाण्डौंबाट भैरहवा जान हिडेका उनी बुधबार साँझ दुम्किवासमा रोकिए । जामका कारण ६ घण्टापछि मात्र सडक पार गर्न सकेको उनले बताए ।

पूर्वपश्चिम राजमार्गहुँदै आवतजावत गर्ने हजारौं यात्रु र सयौं सवारीसाधनले दिनहुँ यस्तै सास्ती व्यहोर्नु परेको छ । बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने पहाडको सडकमा हरेक दिन सवारीसाधन बिग्रिएर आवतजावत नै रोकिने गरेको छ । घण्टौं लगाएर बिग्रिएका सवारीसाधन व्यवस्थापन गरेपनि १४ कि.मि.को दुरी पारगर्न ५ देखि ८ घण्टासम्मको समय लाग्ने गरेको छ ।

बुटवलदेखि नारायणगढसम्मको १ सय १३ कि.मि. सडक विस्तारको काम चाइनाको एक कम्पनीले गरिरहेको छ । सवारीसाधनको अत्याधिक चाप हुने उक्त सडक दर्जनौं स्थानमा खाल्डा खुल्डी छन् । उकालो सडक मर्मत भइरहेकाले क्षमताभन्दा बढी सामान बोकेर आएका मालबहाक ट्रक बीचमै बिग्रिने गरेका कारण सडक जाम हुने गरेको हो ।

भिरसहितको साँघुरो सडक भएकाले सवारीसाधन बिग्रिएपछि व्यवस्थापन गर्न समय लाग्ने भएकाले जामको समस्या भएको प्रहरीले जनाएको छ । हिजो बुधबारदेखि सडकमा बिग्रिएका ६÷७ वटा मालबहाक ट्रकले बिहीबार अबेरसम्म जामको समस्या ल्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए ।

‘सामान बोकेका सवारीसाधन बिग्रिएपछि व्यवस्थापनमा समस्या हुने र सडकमै मर्मत गर्नुपर्ने अवस्था छ । मर्मत नभएसम्म एकतर्फी सञ्चालन हुन्छ । ’डिएसपी लामाले भने । हरेक दिन मालबहाक ट्रक बिग्रिने गरेका कारण महिनामा ५÷७ दिनबाहेक अन्य दिन एकतर्फी मात्र सडक सञ्चालन हुने गरेको बर्दघाटका भुवन शर्माले बताए । क्षमताभन्दा बढी सामान बोकेर आएका सवारीसाधनलाई ट्राफिकले रोक नलागउँदा पनि यो समस्या आइपरेको स्थानीयको भनाई छ ।