न्यायका लागि अपिल

मेचीकाली संवाददाता

२५ कार्तिक २०७८, बिहीबार
717 shares

तिलोत्तमा । मोटरसाईकल दुर्घटना भएको लामो समयसम्म मुद्दा मामिलामा अल्झाएको भन्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ४ निवासी दुई घर परिवारले न्यायका लागि अपिल गरेका छन् ।

२०७६ साउनमा तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शंकरनगरमा लु ५१ प ७१२१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा लु ४८ प २७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा ७१२१ नम्बरको मोटरसाईकलको पछाडि बस्ने व्यक्तिको मृत्यु भएको थियो ।

दुर्घटनामा परी घाइते भएका तिलोत्तमा–४ का १८ वर्षीय राहुल खत्रीको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसबेला दुवै परिवारको आपसी सहमतिमा मृतकका परिवारलाई किरिया खर्च तथा क्षतिपूर्तिबापत ५ लाख रुपियाँ दिने सहमति भएको थियो । उक्त सहमति अनुरुप मृतकका बाबुले अदालतमा उजरी दिएका थिएनन् । तर माइलो बुबाले फेरि अदालतमा उजुरी दिएकाले लामो समयदेखि मुद्दा मामिला खेप्नुपरेको मोटरसाईकलधनीकी आमा कोपिला आचार्यले बताइन् ।

१८ वर्ष मुनीका व्यक्ति भएकाले जिल्ला अदालतले ३ वर्ष कैद सजायँ तोकेको उक्त मुद्दामा बालबालिका सम्बन्धी ऐन अनुसार एक तिहाई छुट भएको छ । अदालतको फैसलापछि अभिभावकसँग रहँदाको समय पनि बाल सुधारगृह सरह मानिने नजीर सर्वोच्चले विगतमा स्थापित गरेकाले उक्त नजीर आकर्षित हुन सक्ने अधिवक्ता शिव गौडेल बताउँछन् ।

त्यसपछि उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेको गौडेलले बताए । अन्जानबस भएको दुर्घटनामा सजाय स्थगनको पनि कानुनी प्रावधान रहेको उनले बताए । मोटरसाईकल धनीले यसैलाई टेकेर सजाय स्थगनको माग गरेका छन् ।

आफ्ना छोराको नाममा भएको लु ४८ प २७२७ नम्बरको मोटरसाईकल सम्बन्धित धनीले नचलाएको र आफ्नो सवारीसाधन मात्र प्रयोग भएको भन्दै उनले आफूहरु अन्यायमा पर्न नहुने बताइन् । लु ५१ प ७१२१ नम्बरको अर्काे मोटरसाईकल धनीका बुबा टिकाबहादुर थापाले भवितव्यस्वरुप घटना हुन पुगेको र त्यो दुःखद भएको भन्दै आपसी सहमतिमा टुंगिएको विषयलाई धेरै नलम्ब्याउन आग्रह गरे ।