

बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआई) मा सीपमूलक प्राविधिक शिक्षाको प्रयोगात्मक कक्षा लिइरहेका किशोरकिशोरीहरु । बीटीआईमा नियमित कक्षाका अतिरिक्त छोटो अवधिको समेत प्राविधिक तालिम चलिरहेको छ । विभिन्न उद्योग, प्रतिष्ठान सञ्चालन गरेका, राष्ट्रिय गौरवका आयोजना र तिनका प्रभावित क्षेत्रका लागि छोटो अवधिको तालिम सञ्चालन भएको छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामार्फत आएका प्रभावित समुदायका करिब एक सय जना किशोरकिशोरीहरुले बीटीआईमा छोटो अवधिको प्राविधिक तालिम लिइरहेका छन् । २०२० मा स्थापना भएको बीटीआई बुटवल उपमहानगर मातहत रहेको र प्राविधिक विषयमा व्यावहारिक विषय पढाउने यस क्षेत्रकै पुरानो संस्था हो ।
यसलाई स्तरोन्नति गरी इन्जिनियरिङ विषयका विभिन्न तहका कक्षा सञ्चालन गर्नेसमेत तयारी रहेको बीटीआईका कामु कार्यकारी निर्देशक इन्जिनियर अभिमन्यू पन्थीले जानकारी दिनुभयो । उपमहानगरका प्रमुख शिवराज सुवेदीकै अग्रसरतामा इन्जिनियरिङ विषयका विभिन्न तहका कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढेको ई.पन्थीले बताउनुभयो । तस्बिरः अमृत गिरी/मेचीकाली

