बुटवलको सडक विस्तारमा किन भइरहेछ लापरबाही ?

मेचीकाली संवाददाता

२६ कार्तिक २०७८, शुक्रबार
734 shares

बुटवल । सहरमा जनघनत्व र सवारीको चाँप दिनहुँ बढिरहेको छ । जनघनत्व र सवारीको चाँपअनुरुप सडकको विस्तार हुन सकिरहेको छैन । ट्राफिक व्यवस्थपान पनि कष्टकर र चुनौतिपूर्ण बनिरहेको अवस्था छ ।

बुटवलको मुुख्य बजार क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्गको संगम छ । मुलुकको आर्थिक तथा व्यापारिक केन्द्रका रुपमा रहेको बुटवलको मध्यभागबाट दुईवटा राजमार्ग विस्तार भएका छन् । तर, राजमार्गको चौराहा–गोलपार्क सडकखण्डको विस्तार कार्यमा चरम ढिलासुस्ती र लापरबाही भइरहेको छ ।

दैनिक हजारौं सवारीसाधन र लाखौं यात्रु ओहोर दोहोर गर्ने यो सडक खण्डको विस्तारका लागि केही वर्षअघि नै ठेक्का लागेको थियो । ठेक्का पाउने निर्माण कम्पनीले आठ करोडभन्दा धेरै रकम पेश्कीस्वरुप लिइपनि सकेको छ । तर, तीन वर्षदेखि यो सडक खण्डको विस्तारको काम अलपत्र जस्तै छ ।

राष्ट्रिय राजमार्ग बनाउने जिम्मा स्थानीय पालिका अर्थात् बुटवल उपमहानगरलाई छैन । प्रदेश सरकारमा पनि समन्वय गर्नेबाहेक निर्माणको अधिकार छैन । संघीय सरकार र संघीय सरकारको मातहतमा रहेका कार्यालयहरुबाटै नै राजमार्ग निर्माण, विस्तार, मर्मत सम्भारका विभागीय काम हुँदै आएका छन् । तर, विडम्बना जनआक्रोसको निशाना स्थानीय पालिका र जनप्रतिनिधि बनिरहेका छन् । ठेकेदार कम्पनी दि कञ्चनजङ्घा बिरुवा जेभीले चौराहा–गोलपार्क खण्डको करिब चार किमी सडक विस्तारको ठेक्का पाएको हो ।

बुटवल–बेलहिया (सुनौली) सडक खण्डअन्तर्गत पर्ने ३.७ किलोमिटर यो प्रदेश मुुकामको यो सडक तीन वर्षदेखि खाल्डाखुुल्डी, धुुलो र हिलोले बेहाल÷अस्तव्यस्त भएको छ । मुख्य खण्डमा बिहानदेखि साँझसम्मै जाम हुन्छ । धुलोले सडक कुहिरीमण्डल हुँदा यात्रु र चालक नचिनिने हुन्छन् । सडककै कारण अहिले बुटवलको मुख्य खण्डमा प्रदूषण बढेको छ ।

वर्षायामभरि हिलो र ठूला–ठूला पानीको ताल प¥यो । अहिले हिउँदे याम सुुरू भएपछि धुुलोले बेजोग छ । केही ठाउँमा सडकको निसानै छैन । कतै कालोपत्रे उक्किएर कच्चीभन्दा फरक छैन । सडकका दायाँबायाँका घर र पसल अहिले धुुलोले सेताम्मे छन् । खाल्डाखुुल्डी र उवडखावडले अहिले पैदलयात्रुु र सवारी साधनलाई सही नसक्नु कठिनाई छ । धुलोमा पानी छर्कने काम भएपनि नियमित छैन । उपमहानगरले समेत कतिपय ठाउँमा आफ्नै स्रोतमा पानी छर्किंदै आएको छ ।

आखिर किन भइरहेको छ ढिलाई ? कसले गरिरहेको छ लापरबाही ? के कारणले निर्माणकार्य सुस्त भइरहेको छ ? यसबारेमा सम्बन्धित कार्यालयले कहिले कोरोना, कहिले केही घरधनीको अवरोध, कहिले बेमौसमी वर्षालाई कारण बताउँदै आएको छ । उता ठेकेदार कम्पनीले पनि यसैलाई कारण बताउँदै आएको छ ।

ठेक्का प्रक्रियामा भएका सम्झौता बेगरका थप काम गर्नुपरेका कारणले पनि ढिलाई भइरहेको ठेकेदारको दाबी छ । तर, यस्ता रकमी भाषा र जवाफले आम सर्वसाधारणको चित्त बुझिरहेको छैन । मुख्य सडक बजार क्षेत्रको सडकमै भइरहेको लापरबाहीमा संलग्न जवाफदेही निकायसँग प्रश्न उब्जिएको छ–किन भइरहेको छ ढिलाई ?

तीन वर्षदेखिको ढिलासुस्ती
बिरुवा कन्ट्रक्सन कञ्चनजङ्घा जेभी, काठमाडौंले तीन वर्ष अगाडि नै सडक निर्माणको ठेक्का पाएको छ । ठेकेदार सुमित श्रेष्ठ अहिले अहिले कामचोर प्रवृत्ति देखाएका छन् । उनका विरुद्ध उब्जिएको आक्रोसको सूचना पाएकाले उनी फिल्डमा हत्तपत्त आउँदैनन् । ठेकेदारको चरम लापरबाहीका अगाडि स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि लुम्बिनी प्रदेशको मुकाम सर्वसाधारणका लागि सास्ती सावित भएको हो । युवा संघ, नेकपा एमाले, नेपाली कांग्रेसलगायतका राजनीतिक शक्तिले कैयौंपटक ज्ञापन पत्रसमेत बुझाएका छन् ।

सडक डिभिजन कार्यालय, बुटवलका प्रमुख जयलाल मरासिनीले ठेकेदारले कतिपय कागजी प्रक्रियाका काम र सुरुको भेरिफिकेसनमा भएका केही कमीकमजोरीको फाइदा उठाउँदै ठेकेदारले बदमासी गरिरहेको बताउँछन् । उनले अन्तिम समयका लागि भन्दै समय थप गरिएको र यो अवधिमा काम नभएमा कानुनी कारबाहीका सबै प्रक्रिया अगाडि बढाउन तम्तयारीमा राखिएको बताएका छन् ।

‘ठेकेदारले काम गर्ने छाँट देखाएको छैन र लापरबाहीलाई निरन्तरता दिइरहेको छ अब प्रशासनको सहारामा पक्राउ गरेर थुनामा राख्न पठाउनेसम्मका कारबाहीका लागि एक्सन लिने तयारीमा छु ।’ कार्यालय प्रमुख मरासिनीको भनाइ छ । यद्यपि उनले ठेकेदारको पहुँच शक्तिका बारेमा पनि संकेत गरेका छन् । भन्छन्–‘मैले ‘एक्सन’ त, लिएको छु के थाहा, ठेकेदारले त कर्मचारीलाई नै सरूवा गराउन बेर छैन ।’

ठेकेदारले पेश्कीस्वरूप ८ करोडभन्दा धेरै रकम लगिसकेको छ । उसले २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तीन वर्ष अगाडि नै ४१ करोड २३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २०६८÷०६९ बाट निर्माण सुरू भएको आयोजना राजमार्ग चौराहाबाट सुनौलीसम्म करिब निर्माण सम्पन्न भए पनि सडक संरचनाभित्र परेका घरधनी अदालत जाँदा बुटवल बजारमा सडक बिस्तारको काम अगाडि बढ्न सकेको थिएन ।
सुरुमा ‘फोर लेन’ बनेको यो सडकलाई २०७२ मा ‘सिक्स लेन’ बनाउने गरी योजना परेको थियो । भद्रगोल बनेको सडक दशकपछि गएको माघमा सबै झन्झट टुंगिएर काम गर्ने प्रक्रिया अगाडि बढाउँदै बुटवल खण्डको शिलान्यास भएको थियो । तर, ठेकेदारले काम नै गरेन ।

ठेकेदार सुमितले भने सम्झौता भएको भन्दा धेरै नै भार पर्नेगरी काम गरिरहेको दाबी गर्छन् । सडक निर्माणमा आफूलाई कामको भार बढेको बताउँदै उनी भन्छन्, ‘सडकको सम्झौतापछि नयाँ डिजाइन आएको छ । मलाई काम बढ्यो । पुरानाको नाली बनाउने थिए । अहिले नाली थपिएको छ । तर, पनि मैले काम गर्छु भनेकै छु ।’

सडक विस्तारको लागि ‘साइड क्लियर’ भएर चौराहादेखि मिलनचोकसम्म दुवैतर्फका नाली निर्माण भएको छ । अन्य क्षेत्रमा काम अगाडि बढेको छैन । पटक–पटक सडक बिस्तारको काम अगाडि बढाउन सडक डिभिजन कार्यालयले आग्रह गरे पनि ठेकेदार कम्पनीले काम नगरेपछि जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले गएको असारमा ठेकेदारलाई निगरानीमा राखेर थियो ।

पछिल्लोपटक सडक विस्तार आयोजनाले गएको पुसमा घरधनीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त म्यादमा केही घर धनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन शुरू गरेपनि केहीले अटेर गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी सडक मिचेर बनाएका घरटहरा डोजर चलाएर भत्काइएको थियो ।

पछिल्लो रिट निवेदनमा गत वर्षको असार ९ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गत पुस २० गते गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।

यो सडक खण्डमा ३११ घर सडकको ८२ फुटभित्र परेका थिए । बुटवल– बेलहिया सडक बिस्तारको लागि ६ अर्ब रुपैयाँ लागतमा भएको हो । यो सडक खण्डअन्तर्गत बेलहिया र भैरहवा बाइपासमा अझै काम बाँकी छ । यो काम पनि सुमितकै ठेक्कामा छ ।

एमाले बुटवलको ध्यानाकर्षण
नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलको बीचभागमा रहेको पूर्वपश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गको संगमस्थलको रुपमा परिचित राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक खण्डको बेहाल अवस्थाले मानव स्वास्थ्यमै असर पु¥याएको भन्दै तत्काल मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सडक डिभिजन कार्यालय बुटवलमा कार्यालय प्रमुख समक्ष बिहीबार ज्ञापनपत्र बुझाउँदै एमालेले जवाफदेही निकाय र निर्माण कम्पनीलाई तत्काल काम सुरु गर्न आग्रह गरेको छ । एमालेका उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा जिल्ला कमिटी उपसचिव गोपाल राना, सचिवालय सदस्य तेजेन्द्र केसी, बाबुराम पन्थी, उपमहानगरका उपाध्यक्ष शोभाखर पोखरेल, मणि खनाललगायत नगर कमिटीका पदाधिकारी र सदस्यहरुको संयुक्त टोलीले सडक विभागको डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको एमाले बुटवल उपमहानगरका सचिव मेघराज भट्टराईले जानकारी दिए ।

गोलपार्कदेखि बेलहिया नाकासम्मको यस व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बाँकी खण्डको काम सम्पन्न भएपनि राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकखण्ड वर्षौँसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धनमा समेत ठूलो अवरोध सिर्जना भएको एमाले बुटवलको ठहर छ । यहाँको पर्यावरण, यहाँको हरियाली र वातावरणमा समेत क्षति पुगेको छ । यो बाटो भएर हिँड्ने लाखौं यात्रीहरु, बुटवलमा आउने हजारौं पाहुना तथा पर्यटकहरुको अगाडि हामी बुटवलबासी तथा बुटवललाई माया गर्नेहरु लज्जित भएको भन्दै मानव स्वास्थ्यमाथि खेलवाड भएको समेत एमाले बुटवलको आरोप छ ।

‘बुटवलको मध्यभागमा रहेको यो सडक खण्डको धुवाँधुलो र खाल्डाखुल्डीले हामीलाई गिज्याइरहेको छ । बालबच्चा, ज्येष्ठ नागरिक, गर्भवती र अस्वस्थ नागरिकहरुलाई यो सडक खण्डमा हिँडाउने अवस्था नै छैन । दैनिक दुर्घटनाहरु निम्त्याएको छ र मानिसले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना गरिएको छ । यो एक प्रकारको अपराध हो भन्ने हाम्रो पार्टीको बुझाई रहेको छ ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

एमालेले सोधेको छ– किन भइरहेको छ ढिलाई र अटेरी ?
४–५ वर्षसम्म सडकक्षेत्राधिकार भित्रका संरचनाहरु हटाउने लडाइँमा र सडकक्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा यसको निर्माण कार्यमा किन ढिलाई गरिएको छ ? बारम्बार निर्माण व्यवसायीको म्याद थप्दै जाने र निर्माण व्यवसायीले भने काम नगर्दै जाने अवस्था कहिलेसम्म ? किन बारम्बार अटेर गरिरहेको छ निर्माण व्यवसायीले ? किन दादागिरी देखाइरहेको छ निर्माण व्यवसायीले ? एमालेले प्रश्न उठाएको छ ।

सडक निर्माणको कामलाई अगाडि बढाउन नसकिरहेको भन्दै सडक डिभिजन कार्यालय र परियोजना कार्यालयप्रति पनि एमालेले आशंका गरेको छ । ढिलासुस्ती गर्ने, पेश्की रकम लिएर पनि काम नगर्ने, साइट क्लियर भएर पनि काम अगाडि बढाउन नखोजेको भन्दै सम्बन्धित कार्यालयको भूमिका माथि पनि एमालेले प्रश्न उठाएको हो । किन यस्तो संवेदनशील विषयमा समेत मुकर्दशक बनिरहेको छ नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ? किन निकम्मा बनिरहेको छ यो सरकार ? समस्या कहाँ छ, उपभोक्तामा, सरकारमा वा कार्यान्वयन गर्ने परियोजना कार्यालयमा ? यो विषय जनताको अगाडि ऐनाले जस्तै छर्लङ्ग पार्न ध्यानाकर्षण गराइएको उपमहानगर कमिटीका उपाध्यक्ष शोभाखर पोखरेलले जाकारी दिए ।

बुटवलका मेयर भन्छन्,
न पालिकालाई काम गर्न दिने, न सम्बन्धित निकायले काम गर्ने !

बुटवलको मुख्य खण्डकै सडक विस्तारमा ठेकेदार र त्यसको नियमन गर्ने निकायदेखि प्रदेश तथा संघीय सरकारका निकायले चासो नदिएको बुटवलका प्रमुख शिवराज सुवेदीको गुनासो छ । स्थानीयपालिकाले काम गर्न नपाउने, कानुनले रोक्ने तर, काम गराउने र गर्ने निकायले हाइसञ्चो मानेर बस्ने गरेको उनको आरोप छ । पालिकाको बजेट त्यहाँ प्रयोग गर्न नपाउने, बजेट विनियोजन गरेर काम गराउने निकायले ढिलासुस्तीमा मौनता साध्ने काम भएको भन्दै प्रमुख सुवेदीले कतै राजनीतिक दाउपेच पो झल्काउन खोजिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन् ।

‘जनआक्रोसको सबै दोष पालिकालाई सोझाइदिएर अरु निकाय चुपचाप बस्दा भ्रम उत्पन्न भयो, अब बुटवल उपमहानगरका जनतालाइ साथमा लिएर पालिकाले आफै खबरदारी गर्नेछ’ बिहीबार पालिकामा आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रमुख सुवेदीले भने,‘सडक निर्माण कार्यमा हुने कुनै पनि बहानाका ढिलासुस्ती, गैरजिम्मेवारीपना र लापरवाहीको साछी बस्न सकिँदैन अब खबरदारी पनि गरिनेछ ।’ सडक निर्माणको कामलाई कार्यान्वयन गर्न, सहजिकरण गर्न, जनसमुदायको सहकार्य जुटाउन उपमहानगरले आफ्नोतर्फबाट आवश्यक पर्ने रचनात्मक तथा सिर्जनात्मक सहयोग उपलब्ध गराउने प्रमुख सुवेदीको प्रतिबद्धता छ ।