बुटवलको चौराहा–गोलपार्क सडक विस्तारलाई तीव्रता दिन एमालेको ध्यानाकर्षण

मेचीकाली संवाददाता

२५ कार्तिक २०७८, बिहीबार
712 shares

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलको बीचभागमा रहेको पूर्व पश्चिम राजमार्ग र उत्तर दक्षिण सिर्दाथ राजमार्गको संगमस्थलको रुपमा परिचित राजमार्ग चौराहा देखी गोलपार्क सम्मको सडक खण्डको बेहाल अवस्थाले मानव स्वास्थ्यमै असर पु¥याएको भन्दै तत्काल मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सडक डिभिजन कार्यालय बुटवलमा कार्यालय प्रमुख समक्ष बिहीबार ज्ञापन पत्र बुझाउँदै एमालेले जवाफदेही निकाय र निर्माण कम्पनीलाई तत्काल काम सुरु गर्न आग्रह गरेको छ । एमालेका उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा जिल्ला कमिटी उपसचिव गोपाल राना, सचिवालय सदस्य तेजेन्द्र केसी, बाबुराम पन्थी, उपमहानगरका उपाध्यक्ष शोभाखर पोखरेल, मणि खनाललगायत नगर कमिटीका पदाधिकारी र सदस्यहरुको संयुक्त टोलीले सडक विभागको डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको एमाले बुटवल उपमहानगरका सचिव मेघराज भट्टराईले जानकारी दिए ।

गोलपार्क देखी बेलहिया नाका सम्मको यस व्यापारिक मार्ग विस्तार आयोजना अन्र्तगत बाँकी खण्डको काम सम्पन्न भएपनि राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडकखण्ड वर्षौसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रर्वद्धनमा समेत ठूलो अवरोध सिर्जना भएको एमाले बुटवलको ठहर छ । यहाँको पर्यावरण, यहाँको हरियाली र वातावरणमा समेत क्षति पुगेको छ । यो बाटो भएर हड्ने लाखौं यात्रीहरु, बुटवलमा आउने हजारौं पाहुना तथा पर्यटकहरुको अगाडि हामी बुटवलबासी तथा बुटवललाई माया गर्नेहरु लज्जित भएको भन्दै मानव स्वास्थ्यमाथि खेलवाड भएको समेत एमाले बुटवलको आरोप छ ।

‘बुटवलको मध्यभागमा रहेको यो सडक खण्डको धुवाँधुलो र खाल्डाखुल्डीले हामीलाई गिज्याईरहेको छ । बालबच्चा, जेष्ठ नागरिक, गर्भवती र अस्वस्थ नागरिकहरुलाई यो सडक खण्डमा हिडाँउने अवस्था नै छैन । दैनिक दुर्घटनाहरु निम्त्याएको छ र मानिसले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना गरिएको छ । यो एक प्रकारको अपराध हो भन्ने हाम्रो पार्टीको बुझाई रहेको छ ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

एमालेले सोधेको छ– किन भइरहेको छ ढिलाई र अटेरी ?
४–५ वर्षसम्म सडकक्षेत्राधिकार भित्रका संरचनाहरु हटाउने लडाईमा र सडकक्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा यसको निर्माण कार्यमा किन ढिलाई गरिएको छ ? बारम्बार निर्माण व्यवसायीको म्याद थप्दै जाने र निर्माण व्यवसायीले भने काम नगर्दै जाने अवस्था कहिले सम्म ? किन बारम्बार अटेर गरिरहेको छ निर्माण व्यवसायीले ? किन दादागिरी देखाईरहेको छ निर्माण व्यवसायीले ? एमालेले प्रश्न उठाएको छ ।

सडक निर्माणको कामलाई अगाडि बढाउन नसकिरहेको भन्दै सडक डिभिजन कार्यालय र परियोजना कार्यालयप्रति पनि एमालेले आशंका गरेको छ । ढिलासुस्ती गर्ने, पेश्की रकम लिएर पनि काम नगर्ने, साइट क्लियर भएर पनि काम अगाडि बढाउन नखोजेको भन्दै सम्बन्धित कार्यालयको भूमिका माथि पनि एमालेले प्रश्न उठाएको हो । किन यस्तो संवेदनशिल विषयमा समेत मुकर्दशक बनिरहेको छ नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ? किन निकम्मा बनिरहेको छ यो सरकार ? समस्या कहाँ छ, उपभोक्तामा, सरकारमा वा कार्यान्वयन गर्ने परियोजना कार्यालयमा ? यो विषय जनताको अगाडि ऐनाले जस्तै छर्लङ्ग पार्न ध्यानाकर्षण गराइएको उपमहानगर कमिटीका उपाध्यक्ष शोभाखर पोखरेलले जाकारी दिए ।

बुटवलका मेयर भन्छन्
न पालिकालाई काम गर्न दिने, न सम्बन्धित निकायले काम गर्ने !

बुटवलको मुख्य खण्डकै सडक विस्तारमा ठेकेदार र त्यसको नियमन गर्ने निकाय देखि प्रदेश तथा संघीय सरकारका निकायले चासो नदिएको बुटवलका प्रमुख शिवराज सुवेदीको गुनासो छ ।

स्थानीय पालिकाले काम गर्न नपाउने, कानुनले रोक्ने तर, काम गराउने र गर्ने निकायले हाइसञ्चो मानेर बस्ने गरेको उहाँको आरोप छ । पालिकाको बजेट त्यहाँ प्रयोग गर्न नपाउने, बजेट विनियोजन गरेर काम गराउने निकायले ढिलासुस्तीमा मौनता साँध्ने काम भएको भन्दै प्रमुख सुवेदीले कतै राजनीतिक दाउपेच पो झल्काउन खोजिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन् ।

‘जनआक्रोसको सबै दोष पालिकालाई सोझाइदिएर अरु निकाय चुपचाप बस्दा भ्रम उत्पन्न भयो, अब बुटवल उपमहानगरका जनतालाइ साथमा लिएर पालिकाले आफै खबरदारी गर्नेछ’ बिहीबार पालिकामा आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रमुख सुवेदीले भने,–सडक निर्माण कार्यमा हुने कुनै पनि बहानाका ढिलासुस्ती, गैरजिम्मेवारीपना र लापरवाहीको साछी बस्न सकिंदैन अब खबरदारी पनि गरिनेछ ।’

सडक निर्माणको कामलाई कार्यान्वयन गर्न, सहजिकरण गर्न, जनसमुदायको सहकार्य जुटाउन उपमहानगरले आफ्नो तर्फबाट आवश्यक पर्ने रचनात्मक तथा सिर्जनात्मक सहयोग उपलब्ध गराउने प्रमुख सुवेदीको प्रतिबद्धता छ ।