एमाले महाधिवेशनको लोगो सार्वजनिक

गैंडाको हातमा कम्युनिस्ट पार्टीको झण्डा

मेचीकाली संवाददाता

२६ कार्तिक २०७८, शुक्रबार
1057 shares

काठमाडौं । नेकपा (एमाले) ले १० औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् ।

महाधिवेशनको लोगोमा पृष्ठभूमिमा १० लेखिएको छ। गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ भने एमालेको चुनाव चिह्न पनि राखिएको छ। एमालेले १० औं महाधिवेशन चितवनमा गर्न लागेको र चितवन गैंडाका लागि प्रख्यात भएको लोगोमा गैंडा राखिएको नेताहरुले बताएका छन्।

कार्यक्रममा एमालेका संगिठत सदस्यहरुले महाधिवेशनका लागि अनलाइनमार्फत दान दिन सजिलो बनाउने प्रयोजनका लागि ‘क्यू आर कोड’ समेत सार्वजनिक गरिएको छ। कार्यालय सचिव शेरबहादुर तामाङले हजार रुपैयाँ दान गरेर क्यू आर कोड संचालनमा ल्याइएको हो ।

तामाङले क्यूआर कोडमार्फत भुक्तानी गर्ने अधिकांशले एक हजारभन्दा कम नगरेको बताए । एमालेले हरेक संगठित सदस्यले महाधिवेशन खर्चस्वरुप एक सय रुपैयाँ तिर्नुपर्ने निर्णय गरेको थियो । कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेन प्रचारका लागि डिजिटल माध्यमको व्यापक प्रयोग गर्ने जानकारी दिए।