पथ प्रदर्शक सहकारीको १३ औँ वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२७ कार्तिक २०७८, शनिबार
365 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित पथ प्रदर्शक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष चन्द्रमणि अधिकारीको अध्यक्षता, जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष अधिकारीले वार्षिक नीति तथा कार्यक्रम र सञ्चालक समितिबाट आर्थिक वर्ष ०७७÷०७८ मा भएका निर्णयहरु, संस्थाका रणनीतिक योजना प्रस्तुत गरेका थिए । समाजमा छरिएर रहेको स–सानो पूँजीलाई संकलन गरि सदस्यहरुबीच विभिन्न वित्तिय पहुँच पु¥याएर स्वरोजगारको अवस्था सिर्जना गर्न बिभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउँदै शेयर सदस्यहरुलाई शुलभ, प्रविधी युक्त, सदस्य मैत्री सेवा प्रदान गर्न संस्था सधै लागिरहने कुरालाई उनले जोड दिए ।

कार्यक्रमका प्रमुख अथिति तुलाचनले संस्थालाई सवल र सक्षम बनाउन सहकारीको ऐन नियमलार्ई कडाईका साथ पालना गराउनु पर्नेमा जोड दिँदै सहकारी सबैका लागि हो भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको धारणा राखे । सहकारीलाई जीन्दगीको सारथीका रुपमा विकास गर्नुपर्ने बताए । सहकारीहरुलाई सहकारी मूल्य मान्यताहरुको आधारमा सञ्चालन गर्न सुझाव दिँदै जवाफदेहिता र इमान्दारीता सहकारी सञ्चालनको प्रमुख तत्व भएको उल्लेख गरे । साथै उनले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका शिक्षा उपसमिति संयोजक विष्णुप्रसाद ज्ञवालीले साधारणसभाका विषयमा प्रकाश पारेका थिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा संस्थाका सल्लाहाकार डा. विष्णुप्रसाद पोखरेल, सल्लाहाकार लिलप्रकाश केसी, लालटिन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगालाल सापकोटालगायतले बोल्दै सहकारीले सामाजीक उत्तरदायीत्व बहन गर्दै उत्पादनमूलक क्षेत्रमा लगानि गर्नुपर्नेमा जोड दिए । त्यस्तै सहकारी संस्थाहरुले अब कमर्शसियल बैंकसँग प्रतिस्पर्धा गर्नसक्ने गरी कार्यक्रम सञ्चालन गर्दै आर्थिक सामाजिक रुपान्तरणमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा सहकारीका असल ऋणी निरमाया राना, ज्येष्ठ नागरिक शेयर सदस्य ८२ वर्षीय अच्युतकुमार श्रेष्ठ र ७३ वर्षीया सुमित्रा खत्रीलाई सम्मान गरीएको थियो । हाल सहकारीमा ८ सय ३१ जना शेयर सदस्य रहेका छन् भने संस्थाको शेयर पूँजी एक करोड ४६ लाख ५७ हजार ५ सय रहेको छ । संस्थाका उपाध्यक्ष नन्दमाया रानाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोषकुमार श्रेष्ठ गरेका थिए ।