हरिबोधनी एकादशीमा कालीगण्डकी किनारमा मेला

मेचीकाली संवाददाता

२९ कार्तिक २०७८, सोमबार
1037 shares

बन्दना पोखरेल
पाल्पा । पवित्र कालीगण्डकी किनारका तटिय क्षेत्रका विभिन्न स्थानमा सोमबार मेला लागेको छ । गतवर्ष कोरोना भाईरसको कारण केही प्रभावित बनेको हरिबोधनी एकादशी मेलामा यस पटक श्रद्धालु भक्तजन र मेला भर्न जानेहरुको उल्लेख्य उपस्थिति रहको थियो । गत दुईवर्ष यताको ठुलो मेला रहेको स्थानीय एबम राधा दामोदर निम्बार्क पिठका सचिव घनश्याम खनालले बताए ।

साखरमा रहेको ग्रामीण साहारा क्लबले यसवर्ष पनि तोरण तारेको छ । हरिबोधनी एकादशीको अवसरमा स्नान गर्नका लागि विभिन्न घाटहरुमा विहानै देखि भिड लागेको थियो । हरिबोधनी एकादशीको दिन कालीगण्डकीमा स्नान गरेमा मोक्ष प्राप्ति हुने विश्वासका साथ गाउँगाउँबाट भक्तजनहरु नदी किनार पुगेका थिए ।

तीन जिल्लाको संगम केलादि धाम रिडी, सेतीवेनी संगै पाल्पाको रानीमहल, राम्दी, हुँगी, भुजात, तातोपानीधाम, स्याङ्जाको ज्याग्दी, रामघाट, केलादी, तनहुँको बैडी, नवलपुरको बालीघाट, तनहुँको देवघाट लगाएतका विभिन्न स्थानमा विशेष मेला लागेको थियो । अन्य स्थानका घाटहरुमा पनि उपस्थित रहेको थियो ।हरिबोधनी एकादशीमा नदी माथि विधी पूर्वक तोरण तार्ने प्रचलन रहेको छ ।

बाँबियो खर तथा तामाको तोराण नदि माथि वारपार हुने गरि तारेमा परिवारमा सुख, शान्ति समृद्धि प्राप्त हुने र पितृलाई स्वर्गमा पुग्न सहज हुने धार्मिक विश्वास रही आएको छ । जस अनुसार ठाउँठाउँमा तोरण तारिएको थियो । चापाकोट नगरपालिका ६ को केलादी र वडा नं. ६ को दामाचौर र स्याङ्जा र पाल्पाको संगम राम्दी लगाएतका स्थानमा तोरण तारिएको थियो ।

एकादशी मेलामा सखरखण्ड, तरुल, सुन्तला, केरा, उखु लगाएतका स्थानीय स्तरमा पाईने फलफुलको किनवेच हुने गरेको पाइन्छ । धादिङ, नवलपुर तथा विभिन्न स्थानमा उत्पादन भएका बाँस बाट बनेको नाङ्गलो, डालो, भकारी, माटोको भाँडाहरु, कुचो लगाएतका सामाग्रीहरु विक्रीका लागि राखिएको थियो । फलाम बाट बनेका औजारहरु पनि विक्रीका लागि राखिएको थियो । विगतको तुलनामा यस वर्ष सुन्तला, सखरखण्ड तथा तरुल निकै कम देखिएको थियो । माटाका भाँडाहरुको पनि राम्रो बिक्री भएको व्यापारीहरुले बताए ।