रुपन्देहीमा बन्दको सामान्य प्रभाव

मेचीकाली संवाददाता

३० कार्तिक २०७८, मंगलवार
503 shares

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको रुपन्देहीमा सामान्य प्रभाव परेको छ ।

जिल्लाको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा, देवदह लगायतका क्षेत्रका सडकमा सार्वजनिक सवारीसाधन नचले पनि बिस्तारै निजी सवारीको चाप बढ्दै गइरहेको छ । पसलहरू भने खुलेका छैनन् । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । बन्दकर्ताहरू भने सडकमा देखिएका छैनन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटना नभएको उनले बताए ।

सरकारले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य बढाएको विरोधमा नेकपाले बन्द आह्वान गरेको थियो । जनताका मागकै आधारमा बन्द आव्हन गरिएकोले बन्द सफल पार्ने नेकपाले जनाएको छ ।