नेपाल बैंक लिमिटेडद्धारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

मेचीकाली संवाददाता

१ मंसिर २०७८, बुधबार
546 shares

बुटवल । बुटवल–४ राममन्दिर लाइनस्थित नेपाल बैंक लिमिटेडले मानवसेवा आश्रम (मानवता प्रवर्धन महाअभियान) लुम्बिनी प्रादेशिक कार्यालय बुटवललाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

बुधबार बैंकको ८५ औँ वर्ष प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई खाद्यान्न सहयोग गरिएको होे । कार्यक्रममा मानवसेवा आश्रमका अभिभावक लोकनाथ भुसालले आश्रमका बारेमा जानकारी गराएका थिए । उनले मानवीय सेवामा योगदान पु¥याउने बैंकको सम्पूर्ण परिवारलाई धन्यवाद दिए । बैंकको सामाजिक उत्तरदायित्व र मानवीय कार्यअन्तर्गत १० क्वीटल चामल र ५० लिटर तोरीको तेल हस्तान्तरण गरिएको हो ।

त्यस्तै नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अशक्त सडक आश्रित मानवहरूलाई बैंकको तर्फबाट सहयोग गर्न पाउँदा खुसी भएको बताए । आगामी दिनहरुमा पनि यस्ता सहयोगहरुलाई निरन्तरता दिने भुसालले प्रतिबद्धता जनाए । यस्ता सहयोगी संघसंस्थाहरु अन्य ठाउँमा पनि स्थापना हुन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा प्रादेशिक कार्यालयमा कार्यरत प्रबन्धक सुपज ज्ञवाली, सहायक प्रबन्धक सोनम थापा, चिरञ्जीवी सापकोटा, अमृत बौधाचार्य चन्द्रमान श्रेष्ठ, शेरबहादुर गौतम, चिरन बराललगायतको उपस्थिति रहेको थियो । वि.सं २०६९ सालमा हेटौडाबाट सुरु भएको मानवसेवा आश्रमको हाल सातवटै प्रदेशमा २२ वटा शाखा सञ्चालनमा रहेका छन् ।

दुई हजारभन्दा बढी सडक आश्रित मानवहरुलाई आश्रय दिइरहेको आश्रमको लुम्बिनी प्रादेशिक कार्यालय बुटवलमा १५० भन्दा बढी आश्रीत मानवहरु रहेका छन् । कार्यक्रमको सञ्चालन मानवसेवा आश्रम लुम्बिनी प्रादेशिक कार्यालय बुटवलकी संयोजक टिका थापाले गरेकी थिइन् ।