चिच्चाएर वर माग्ने सत्यवती मेला सुरु

मेचीकाली संवाददाता

२ मंसिर २०७८, बिहीबार
805 shares

बुटवल । चिच्चाएर वर माग्ने पाल्पाको सत्यवती मेला बुधबारदेखि सुरु भएको छ ।

धार्मिक पर्यटकीय स्थल पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रमा वर्षेनि लाग्दै आएको ऐतिहासिक तथा धार्मिक महत्वको मेलामा एकै दिन १० हजार बढीले अवलोकन गरेको मेला ब्यवस्थापन समितिले जनाएको छ ।

हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने सत्यवती ताल क्षेत्रमा सोमबारदेखि नै दर्शनार्थीको भिड सुरु भएको तिनाउ–४ का अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए ।

यो वर्ष मंसिर १, २ र ३ गते वर माग्ने जोग परेकोले सत्यवती मन्दिरमा सोमबारदेखि नै भिड लागेको जनाइएको छ । दर्शनार्थीहरुको सहजताका लागि यो वर्ष पहिलो पटक निजी सवारीसाधनलाई समेत प्रवेश खुला गरिएको वडा अध्यक्ष गाहाले बताए । सवारीसाधन खुला गरिएसँगै दर्शनार्थीहरु आफ्नो निजी सवारीमा मन्दिर दर्शनका लागि जान सक्नेछन् ।

सत्यवती देवी (बजै) ले कानले नसुन्ने भएकाले चिच्याएर एउटा मात्र वर माग्नुपर्ने जनविश्वास रहेको छ । उच्च पहाडको हराभरावनभित्र फैलिएको सुन्दर सत्यवती ताल क्षेत्रमा रातको समयमा मन्दिरमा पूजा सकेर ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन अझै कायमै छ ।