अभियुक्तहरू धमाधम समात्दै कपिलवस्तु प्रहरी

मेचीकाली संवाददाता

३ मंसिर २०७८, शुक्रबार
518 shares

सुनिल आचार्य
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान, लागू औषध, लुटपाट, कुटपिट, सवारी ज्यान लगाएतका कसुरमा फरार अभियुक्त पक्राउ गर्न कपिलवस्तु प्रहरी फ्युगिटी एरेस्ट प्रोग्राम (फ्याप) कार्यक्रम सञ्चालन गरेका छन् । यस आर्थिक वर्षको ४ महिनामा ४ सय ८६ जना फरार अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको छ ।
यसैगरी साउन महिनामा २ सय ८९, भदौमा १ सय २७, असोजमा ४८ र कात्तिक महिनामा २२ जना फरार प्रतिबादी पक्राउ परेका हुन् । गत आर्थिक वर्षको साउनदेखि कात्तीकसम्म ८१ जना फरार अभियुक्त पक्राउ परेका थिए । फरार रहेका २० वर्षपछि पक्राउ पर्नेमा ३५ जना, १५ वर्षपछि पक्राउ पर्नेमा ३६ जना, १० वर्षपछि पक्राउ पर्नेमा १ सय ४० जना र पाँच वर्षपछि पक्राउ पर्नेमा १ सय ५८ जना छन् । त्यस्तै, पाँच वर्षभन्दा कम अवधिदेखि फरार रहेका १ सय १७ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अपराध गर्ने एकदिन अवश्य कानुनको दायरामा आउनैपर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कार्कीले बताए । कपिलवस्तु प्रहरीले मुद्दा फछ्र्यौटलाई प्राथमिकता दिएको छ । प्रहरीले असोजमा ४४ मुद्दामा २१ र कात्तिकमा ६६ मुद्दामा ३३ मुद्दा फछ्र्यौट गरेको छ । चालू आवको चार महिनामा ५ करोड ३१ लाख ४० हजार ७ सय ७२ रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
प्रहरीले जिल्लामा हुने विभिन्न घटनाहरुलाई कम गर्न मोटर साइकल गस्ती, मोवाइल गस्ती, पैदल गस्ती, एसआरपी गस्ती र एलआरपी गस्ती परिचालनलाई प्राथमिकता दिंदै ७१ हजार ४ सय १६ किलोमिटर दूरीको गस्ती गरेको छ ।