गृहमन्त्री खाँणकै आडमा उम्मेदवारमाथि भौतिक आक्रमण ! नाकको डाँडी भाँचियो

मेचीकाली संवाददाता

४ मंसिर २०७८, शनिबार
539 shares

बुटवल । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको आडमा तरुण दलका नेताले कांग्रेसकै कार्यकर्ता कुटेको भन्दै रामचन्द्र पौडेल समुहले कारबाहीको माग गरेको छ ।

नेपाली कांग्रेसका पूर्व सभापति रामचन्द्र ढकाल, निर्वाचन क्षेत्र नम्बर ३ सभापतिका उम्मेदवार मातृकाप्रसाद यादव र ३ (क) का क्षेत्रीय सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आफ्ना समर्थकले निर्वाचन हार्ने देखिएपछि सुनियोजित रूपमा भौतिक आक्रमण भएको उल्लेख गरिएको छ ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रवार भएको रुपन्देही क्षेत्र नम्बर ३ (क) को मतगणना चलिरहँदा गएराती खाँण समर्थकले पौडेल पक्षका उम्मेदवार शैलेशकुमार पन्तसहित ५ जनालाई आक्रमण गरेका थिए । घाइते पन्तको नाकको डाँडी भाँचिएको बताइएको छ । गम्भीर घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । भने अन्य घाइतेहरूको भैरहवामा उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका प्रदेश सभापति पुरनप्रसाद श्रेष्ठले मतदानपश्चात् मतगणना चलिरहेको अवस्थामा आफ्नो सर्मथकले निर्वाचन हार्ने देखिएपछि गृहमन्त्रीको आडमा गृहमन्त्रीका भाइ नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणको निर्देशनमा तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ ‘सेते’को नेतृत्वमा रहेको समुहले सुनियोजित आक्रमण गरेकोे बताए ।

रुपन्देहीको क्षेत्र नम्बर ३ मा शेरबहादुर देउवा प्यानलबाट सुरेन्द्रजंग थापा सभापतिका उम्मेदवार थिए भने रामचन्द्र पौडेल पक्षबाट सभापति पदमा अधिवक्ता पुरनप्रसाद श्रेष्ठको प्रतिस्पर्धा रहेको थियो । शुक्रवार भएको ५ वटै प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठको प्यानलले नै अग्रता लिइरहेको थियो । पौडेल पक्षले पुनः मतदान गर्न समेत माग गरेको छ ।

नेपाली कांग्रेसका सचिव रामकृष्ण खाँणले भने घटना हुनु दुःखद भए पनि सुनुयोजित रुपमा घटना नभएको बताए । ‘गृहमन्त्री खाँण र मलाई नाम जोडेर जुन प्रचार गरिएको छ, यो दुःखद हो । घटना सुनियोजित होइन’, उनले भने ।