एमालेलाई बुद्धिजीवीहरुको सुझावः नीति कार्यान्वयन गर्ने नेतृत्व चुनियोस्

मेचीकाली संवाददाता

७ मंसिर २०७८, मंगलवार
535 shares

बुटवल । नेकपा एमालेका नेताहरुलाई यहाँका बुद्धिजीवीहरुले समृद्धि र खुशहालीको लक्ष्य साकार पार्न सक्ने सक्षम नेतृत्व छान्न सुझाव दिएका छन् । पार्टीको आसन्न महाधिवेशनका शन्दर्भमा मंगलबार बुटवलमा आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सहभागी बुद्धिजीवीहरुले देश बनाउने कार्यभार बोकेको पार्टीको नेतृत्व सोही अनुरुपको हुनुपर्ने सुझाव दिएका हुन् ।

जनचाहनाको नारा तय गरेको, नारालाई साकार पार्ने उपयुक्त कार्यक्रम बनाएको पार्टीले त्यसको कार्यान्वयन गर्नुपर्ने भएको भन्दै कार्यभार नभुल्न पनि नेताहरुको ध्यानाकर्षण गराएका छन् । नेपाल बुद्धिजीवी परिषद् लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा मंगलबार बुटवलमा भएको महाधिवेशन लक्षित अन्तरक्रियात्मक कार्यक्रममा सहभागी विभिन्न विषयका विज्ञ तथा बुद्धिजीवीहरुले समृद्धिका उपयुक्त आधार तयार पार्दै तिनलाई उचित कार्यक्रममार्फत प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

पार्टीको नेतृत्वले राष्ट्रिय संकल्प साकार पार्ने कार्यभार भुल्न नहुने बुद्धिजीवीहरुबाट सुझाव दिनुका साथै सहकार्यका लागि प्रतिवबद्धता गरिएको संगठनका केन्द्रीय सदस्य वसन्तराज खनालले बताए । पार्टीको नीति र सिद्दान्तलाई व्यवहारमा उतार्नका लागि बुद्धिजीवी परिषद्ले पार्टीको नयनका रुपमा काम गरिरहेको भन्दै नेताहरुले बुद्धिजीवीहरुका सुझावलाई स्वागत गरिने बताएका थिए । एमालेको नीति तथा सिद्दान्त, विधान र कार्यशैलीको अध्यय्न गरेर आवश्यक सुझाव दिन पनि नेताहरुले आग्रह गरे । बुद्धिजीवीहरुको आलोचनात्मक चेतलाई पार्टीले सम्मान गर्ने नेताहरुको भनाइ थियो ।

पार्टीका नेताहरु लिला गिरी, दधिराम न्यौपाने, शिवराज सुवेदीलगायतले बुद्धिजीवी परिषद्को कार्यक्रममार्फत आएका सुझावको स्वागत गर्दै तिनै सुझावका आधारमा पार्टी कमिटीका गतिविधिलाई प्रभावकारी समेत बनाइने बताएका थिए । पार्टीका केन्द्रीय सदस्य तथा महाधिवेशन मूल समारोह समितिका सदस्य समेत रहनुभएका नेता लिला गिरीले बुद्धिजीवीहरुका सुझावलाई पार्टी नेतृत्वले उच्च सम्मान गर्ने बताए ।

नेता गिरीले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने भएकाले सोही अनुरुपका कार्यक्रम तयार भएकाले सोको प्रचार प्रसार गर्न जरुरी रहेको बताए । सही नीति र जनमतप्राप्त पार्टीलाई सत्ताबाट बाहिर ल्याएर पार्टी विभाजित गराउन दक्षिणपन्थता भएकाले त्यसलाई परास्त गर्न एमालेले विधान महाधिवेशबाट पारित दस्तावेज र नारा सही भएको नेता गिरीको भनाइ थियो ।

बुद्धिजीवी परिषद्का नेता कृष्णकुमार लम्सालको अध्यक्षतामा भएको उक्त अन्तरक्रियात्मक कार्यक्रममा प्राडा सूर्यबहादुर जिसी, डा.खगराज शर्मा, डा. भोजराज कडेरिया, गणेश घिमिरे, ऋषि आजाद, धनिश्वर गौतम, उमापति न्यौपाने, बालाराम ज्ञवाली, डिलाराम ढकाललगायतले पार्टी कमिटीले समय समयमा विषय छनौट गरेर छलफल र अन्तरक्रिया गर्न सुझाव दिएका थिए ।

नेकपा एमालेको आसन्न महाधिवेशनको शन्दर्भमा विभिन्न ठाउँमा छलफल, बहस तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएका छन् । पार्टीका जनवर्गीय तथा शुभेच्छुक संगठनहरुले सबै प्रदेशमा महाधिवेशन लक्षित प्रचार कार्यक्रम तीव्र पारेका छन् । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा प्रचारात्मक र अन्तरक्रियात्मक कार्यक्रम जारी रहेको प्रचार विभाग प्रमुख झपेन्द्रबहादुर जिसीले जानकारी दिए ।

महाधिवेशनले नेतृत्व छान्ने मात्रै नभइ देशको समग्र राजनीतिलाई नै दिशानिर्देश गर्ने र समृद्धिका बाँकी रहेका लक्ष्यलाई साकार पार्न केन्द्रित गराउने अवसरसमेत दिने नेताहरुले बताएका छन् । समृद्ध मुलुक ः सुखी जनताको राष्ट्रिय संकल्प एमाले नेतृत्वको सरकारका पालामा बनाइएको हो । यसैलाई साकार पार्न नेकपा एमालेले उपयुक्त नेतृत्व छनोट गर्ने नेताहरु बताउँछन् ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतालाई परास्त गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ एमालेको दशौं महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।