बुटवलमा देउवा–पौडेल पक्षबीच कुटाकुट ! घाइतेलाई काठमाडौं पठाइयो

मेचीकाली संवाददाता

७ मंसिर २०७८, मंगलवार
635 shares

बुटवल । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाका क्रममा कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

बुटवलको बालमन्दिरमा मतगणना जारी रहँदा दुई गुटबीचको विवाद उग्र हुँदै झडप भएको हो । झडपमा रामचन्द्र पौडेल पक्षका महाधिवेशन प्रतिनिधि उम्मेदवार दीर्घबहादुर केसी (कुमार) गम्भीर घाइते भएका छन् । सभापति शेरबहादुर देउवा समूहले केसीमाथि आक्रमण गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आरोप छ ।

गम्भीर घाइते केसीलाई बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । आक्रमणबाट उनको टाउको र मुखमा चोट लागेको छ । मतगणनामा पौडेल समूहका उम्मेदवारहरूले अग्रता लिएका थिए । आक्रमण पछि अहिले मतगणना स्थगित भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला समेत रहेको रुपन्देहीमा यसअघि निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश क्षेत्रीय निर्वाचनको मतगणनाका क्रममा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद बढेर झडप हुँदा क्षेत्रीय सचिवका उम्मेदवार शैलैश पन्त सहित ५ जना घाइते भएका थिए ।