एमाले महाधिवेशन र जनअपेक्षा

मेचीकाली संवाददाता

१० मंसिर २०७८, शुक्रबार
673 shares

अमृत गिरी
बुटवल । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणघाटमा सुरु हुँदैछ । नारायणी नदी किनारको बनाइएको सजिसजाउ र झकिझकाउ समारोहमा विशाल जनसागरबीच महाधिवेशनको उद्घाटन हुँदैछ । पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहका बीच आज दिउँसो महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

करिब दुई हजार तीन सयको हाराहारीमा पार्टी सदस्यहरूको प्रतिनिधित्व हुने महाधिवेशनमा विश्वका करिब ६० देशका अतिथि प्रतिनिधि उपस्थित हुने सम्भावना रहेको छ भने उद्घाटन सत्रमा करिब पाँच लाख कार्यकर्ता तथा शुभेच्छुकहरू सहभागी हुने अनुमान गर्दै कार्यक्रम व्यवस्थापन गरिएको एमालेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए । महाधिवेशनको बन्दसत्र भने मुलुककै प्रमुख पर्यटकीय नगरी चितवनको सौराहामा हुँदै छ । महाधिवेशनका लागि रुपन्देहीसहित लुम्बिनी प्रदेशबाट दुई सय १० जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।

‘महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु अघिल्लो दिन बेलुकादेखि नै चितवन आउने क्रम सुरु भएको छ । चितवनमा सबैतिर एमालेकै नेता कार्यकर्ता भरिनुभएको छ, अबको केही दिन चितवन र आसपासका जिल्लाहरु एमालेमय हुनेछन् ।’ एमाले लुम्बिनी प्रदेशका अध्यक्ष तथा महाधिवेशन मूल आयोजक समिति सदस्य लिला गिरीले बताए ।

मुलुककै मध्यभागमा महाधिवेशन स्थल
चितवन जिल्लालाई मुलुकको भूगोलको हिसाबले करीब करीब मध्यभाग मानिन्छ । देशकै मध्य बिन्दुमा पर्ने चितवन जिल्ला राजनीतिदेखि सामाजिक र आर्थिक क्षेत्रका सबैको रोजाइँको ठाउँ हो भने विदेशी पर्यटकहरूको आकर्षक स्थल पनि हो । चितवनमै रहेको अयोध्यापुरी र देवघाटको आफ्नै धार्मिक महत्व रहेको छ भने यी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम पार्टीका अध्यक्ष केपी ओलीले गरेका छन् ।

नीति कार्यान्वयन गर्ने नेतृत्व छानियोस्
अधिकार प्राप्तिको आन्दोलन पूरा भएको छ । अब आर्थिक, सामाजिक परिवर्तनका लागि क्रान्ति गर्नुपर्ने छ । समृद्धि र खुशहालीको संकल्प र लक्ष्य लिएकाहरु नै देशको साशनसत्ता सञ्चालन गर्नुपर्ने छ । महाधिवेशनमार्फत सोही प्रकृतिको नेतृत्व चयन हुन सकोस् । जनताको जीवनस्तरमा परिवर्तन ल्याउन, राज्यका संयन्त्रलाई जनमैत्री बनाउन र समाजवादको आधार निर्माण गर्ने उपयुक्त नीति विधान महाधिवेशनले नै बनाएको छ । यहीँ नीति कार्यान्वयन गर्ने नेतृत्व चाहिन्छ । महाधिवेशनलाई राज्य सञ्चालन गर्न सक्ने क्षमतावान नेतृत्वको पहिचान गर्ने माध्यम पनि मानिन्छ । सही नेतृत्वको छनोटले उक्त दल प्रति जनविश्वास बढ्न गई राज्य सञ्चालनको अवसर प्राप्त गरी राष्ट्रकै भविष्य बदलिन सक्छ ।

जनादेश फिर्ता ल्याउने अवसर
२०७२ सालमा संविधान सभाबाट निर्मित संविधानबमोजिम २०७४ सालमा भएको तिन तहको निर्वाचनले नेकपा एमालेलाई देशकै सबैभन्दा ठूलो राजनैतिक दल बनायो र त्यसका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने महत्वपूर्ण अवसर पायो । नेकपा माओवादीसँग पार्टी एकता गरी करिब दुई तिहाइ जनमत रहेको सरकारसमेत बन्यो र प्रधानमन्त्री ओली नेतृत्वको सरकारले स्पष्ट भिजन र दृष्टिकोण तयार पार्न सक्यो । विडम्बना पार्टीभित्रकै अन्य पदलोलुप कुण्ठाग्रस्त र विग्रहको सोंच भएकाहरुले असहयोग गरे र जनपक्षीय सरकार नै ढालियो । दुनियाँमा कहीँ नभएको परमादेश जारी गराएर जनादेशको खिल्ली उडाउने काम भयो । अब जनादेश फिर्ता ल्याउनुपर्ने छ । फेरि जनादेश लिएर एकल सरकार निर्माण गर्दै जनताको जीवन बदल्नुपर्ने छ । सोही नीति कार्यान्वयन गर्ने नेतृत्व चयन हुन सकोस् ।

महाधिवेशनले प्रमाणित गर्नुपर्नेछ
अहिलेको एमाले महाधिवेशन सभा सम्मेलन र नेतृत्व चयनमा मात्र सीमित नभएर पार्टीलाई राष्ट्र निर्माण गर्न सक्ने योग्यता, क्षमता तथा भिजन भएको र आधुनिक प्रविधिमैत्री राजनैतिक दल हो भन्ने प्रमाणित गर्नुपर्नेछ । देश निर्माणको अभिभारा पूरा गर्ने, विकासका सपनाहरू बोकेको, जनमतको कदर गर्ने, लोकतन्त्रको पहरेदार तथा गणतन्त्रको संरक्षक राजनैतिक दलको रूपमा एमालेले आफूलाई उभ्याउनुपर्ने छ । विधि पद्धति, आन्तरिक लोकतन्त्र, प्रतिस्पर्धा, अनुशासन तथा निर्धारित समयमा सक्षम नेतृत्व चयन गर्न सक्ने क्षमताको प्रदर्शन गर्नुपर्ने छ ।

सुस्ताएको पर्यटन चलायमान हुँदै
कोरोना कहरका कारण अहिले सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र भनेको पर्यटन नै हो । सुस्ताएको पर्यटन क्षेत्रलाई महाधिवेशनले चलायमान गराउने छ । महाधिवेशनका कारणले अहिले सौराहा आसपास क्षेत्रको व्यापार व्यवसाय चलायमान भएको छ । यहाँको निजी क्षेत्र पनि उत्साहित भएको छ । कोरोनाले सुस्ताएको पर्यटक व्यवसायमा सकारात्मक प्रभाव पारेको यहाँका पर्यटन व्यवसायीको प्रतिक्रिया छ ।
प्रथम विधान महाधिवेशन यस अगाडि नै सम्पन भई सकेकोले यस दसौँ महाधिवेशन मुख्यतः नेतृत्व चयनमै केन्द्रित हुनेछ । महाधिवेशनले योग्य सक्षम तथा देश निर्माण गर्न सक्ने स्पष्ट दृष्टिकोण भएका जनताको विश्वास योग्य नेतृत्व चयन गरोस् । सोही नेतृत्वले ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को लक्ष्यलाई साकार पार्न केन्द्रित रहोस् ।