भृकुटी माविमा चित्रकला प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

१० मंसिर २०७८, शुक्रबार
569 shares

सुनिल आचार्य
कपिलवस्तु, मंसिर १० । बुद्धभूमि नगरपालिका वडा नं. ४ स्थित भृकुटी माध्यमिक विद्यालयमा ईन्सेकद्धारा गठित बाल अधिकार चेतना समुहको आयोजना तथा ईन्सेक कपिलवस्तुको समन्वयमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

बिद्याथीहरुको क्षमता अभिबृद्धि तथा चित्रकलाले सीपलाई प्रस्फुटन गरी हौसला प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी वालवालिकाहरुले विभिन्न पुरातात्विक सम्पदा तथा समुदायमा रहेका यथार्थ घट्नाहरुलाई समेटी चित्र कोरेका थिए ।

कोभिड–१९ का कारण २ वर्ष सम्म बिद्यालयहरु संचालन हुन नपाएपछि अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु बन्द रहेका थिए । बिद्यालय खुलेपछिको पहिलो पटक चित्रकला प्रतियोगिता कार्यक्रममा भाग लिन पाएको भन्दै बिद्यार्थीहरुले खुशी व्यक्त गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने वालवालिकाहरुलाई कापी, कलम, शब्दकोष , सामान्य ज्ञान जस्ता शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बिद्यार्थीहरुलाई विद्यालयका सहायक प्रधानाध्यापक गणेश त्रिपाठी र ईन्सेक प्रतिनिधि पार्वती आचार्यले पुरस्कार वितरण गरेका थिए ।

सो कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक त्रिपाठीले कोभिडका कारण २ बर्ष देखि रोकिएको कार्यक्रमलाई ईन्सेकले निरन्तरता दिएको भन्दै खुसी व्यक्त गरे । उनले चित्रकला प्रतियोगितामा उत्कृष्ट बिद्यार्थीहरुलाई बधाई दिंदै वालवालिकाले आफ्नो अधिकारसंगै दायित्व पनि पुरा गर्न आवश्यक रहेको बताए ।

कार्यक्रम बाल अधिकार चेतना समुहका अध्यक्ष भुवन ढेगा मगरको अध्यक्षतामा, संरक्षक शिक्षक मतिराज खनालको सहजिकरण रहेको थियो । प्रतियोगितामा कार्यक्रममा विद्यालयका शिक्षकहरु टुकप्रसाद अधिकारी, सालिकराम अधिकारी, प्रसाद चौधरी तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । चित्रकला प्रतियोगितामा ४२ जना बिद्यार्थीहरुले भाग लिएका थिए ।