बुटवलमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

मेचीकाली संवाददाता

१२ मंसिर २०७८, आईतवार
717 shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवन नजिकै विद्युतको करेन्ट लागेर विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ ।

अन्य दुई मजदुर घाइते भएका छन् । आइतबार दिउसो उपमहानगरको निर्माणाधीन भवनमा थ्री फेज लाइन जडान गर्ने क्रममा विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत कर्मचारी ४३ वर्षिय बसन्त भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

घाइते हुनेहरुमा सोही निर्माणाधीन भवनमा दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी रहेका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २ जना घाइतेको अवस्था भने सामान्य रहेको बताइएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।