राष्ट्रपति भण्डारी बिहीबार कपिलवस्तु आउने

मेचीकाली संवाददाता

१५ मंसिर २०७८, बुधबार
743 shares

कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार कपिलवस्तु आउने भएकी छन् । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा हुने २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउन लागेकी हुन् । विहान ११ बजे हेलिकप्टरमार्फत् राष्ट्रपति भण्डारी आइपुग्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको कैलाश आश्रम तथा मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको अवलोकन, विश्वविशाल शिव ज्योर्तिलिङको स्थापना र नवनिर्मित कुण्डको उद्घाटन गर्ने यज्ञका प्रेरक गुरु ब्रहम्निष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराजले जानकारी दिए ।

राष्ट्रपति आउने कार्यक्रम तय भएपछि अहिले त्यहाँ द्रुत ढंगबाट काम भइरहेको छ । अहिले यज्ञस्थलको सजावट, पंडाल, साउण्ड ब्यवस्थापन, रंगरोगन, प्रचारप्रसार, अतिथिको आमन्त्रण, ध्वजापताका लगायतका कामहरु अन्तिम अवस्थामा पुगेका छन् । मंसिर २२ गतेसम्म हुने महायज्ञमा यसपटक अन्र्तराष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन (भारत) ले कथा बाचन गर्ने छन् ।

गुरुकुलमको सहयोगगार्थ भोलिबाट महायज्ञ सुरु हुने छ र राष्ट्रपतिबाटै विविधत् रुपमा यज्ञको उद्घाटन हुने भनिए तापनि उनको ब्यस्तताको कारण २ दिन ढिलो उद्घाटन हुने छ । यज्ञका अनुष्ठान भने भोलिबाटै सुरु हुने स्वामी लोकानन्द महाराजले जानकारी दिए । नन्दनगर बसाईको क्रममा राष्ट्रपति भण्डारीले भक्तसमक्ष छोटो भनाई राखेर विदाई हुने यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीले बताए ।