सैनामैनामा महिला विद्यालय सञ्चालन

मेचीकाली संवाददाता

१६ मंसिर २०७८, बिहीबार
725 shares

सैनामैना । रुपन्देहीको सैनामैनामा महिला विद्यालय संचालनमा आएको छ । मेची महाकाली बुहारी समूह र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको पहल र सैनामैना नगरपालिकाको सहयोगमा सैनामैना नगरपालिका–६ पटनास्थित महिला विद्यालयको बिहीबार एक समारोहकाबीच औपचारिक शुभारम्भ भएको हो ।

विभिन्न कारणले शिक्षाबाट बन्चित भएका वा औपचारिक अध्ययन पूरा नभएका महिलाहरूका लागि स्थापना गरिएको विद्यालयको लुम्बिनी प्रदेशका सांसद भूमिश्वर ढकाल, नगर प्रमुख चित्र बहादुर केसी लगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सो अवसरमा बौल्दै प्रमुख अतिथि ढकालले शिक्षा चौतर्फी विकासको आधार रहेको बताउँदै सैनामैनाले गरेको प्रयास सराहनीय रहेको बताए । उनले महिला शसक्तिकरणका लागि शिक्षा अत्यावश्यक रहेको बताए ।

उनले भने ‘संविधानले राज्यका सबै संयन्त्र र निकायमा महिलाको सहभागिता सुनिश्चितता गरेको छ, तर उपस्थिति भने न्यून छ, महिला सहभागिता बढाउन र चौतर्फी विकासका लागि शिक्षा अनिवार्य छ ।’ त्यसैगरी सैनामैना नगरप्रमुख केसीले शिक्षाका लागि नगर गम्भीर हुँदै विभिन्न योजनाका साथ अगाडि बढेको बताए । उनले नगरका १० विद्यालयलाई मर्ज गरेर उचित व्यवस्थापन समेत गरेको बताउँदै शिक्षाका लागि सैनामैना उर्वर भूमि र गन्तव्यनै बनेको दावी गरे । उनले भने ‘हामी शिक्षाका लागि निरन्तर प्रयासरत छौं । विद्यालय व्यवस्थित बनाई गुणस्तरीय शिक्षाका विद्यालय मर्जदेखि पूर्वाधार विकास र प्रविधिको व्यवस्थापनसँगै सचेतनाका कार्यक्रमहरु पनि गर्दै आएका छौं ।’

‘महिला शिक्षित भए घर,परिवारसँगै नगर र राज्यनै शिक्षित हुन्छ भन्ने हामीले निर्वाचनमा गरेको प्रतिवद्धतालाई पूरा गर्दै महिला विद्यालय
सुरुवात गरेका छौं । यसमा मेचीमहाकाली संयुक्त बुहारी आवाजले सञ्चालनको जिम्मेवारी निर्वाह गर्दछ भने नगरपालिकाले आवश्यक सहयोग गर्ने छ । सुरुवातमा केहि कठिनाई भएतापनि विस्तारै आवश्यक सबै व्यवस्था गरिने छ ।’ उनले भने ।

कार्यक्रममा नेकपा एमाले सैनामैना सभापति कृष्ण न्यौपाने, पर्रोहा बहुमुखी क्याम्पसका अध्यक्ष खुशीराम चौधरी,साधना महिला विद्यालय, बुटवलकी अध्यक्ष सावित्रा अर्याल लगाएतले बोल्दै महिला शिक्षित भए मात्रै राज्य शिक्षित बन्ने बताउँदै महिला शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । गोरखनाथ सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष लता खड्काको अध्यक्षमा भएको कार्यक्रममा स्थानीय आमा समूह,शैक्षिक व्यक्तित्व लगाएत विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महिला विद्यालयमा करिब ७० वर्षसम्मका २५ देखि बढी महिलाहरु अध्ययन गर्दैछन् ।

महिला मात्रै लक्षित सैनामैनामा सञ्चालित विद्यालय जिल्लाको दोस्रो महिला विद्यालय हो । यस अगागि विगत १५ वर्षदेखि बुटवलमा साधना महिला विद्यालय सञ्चालन हुँदै आएको छ ।