हाइड्रोसिल र कुष्ठरोगका बिरामीको निःशुल्क अप्रेशन

मेचीकाली संवाददाता

१७ मंसिर २०७८, शुक्रबार
470 shares

पार्बती आचार्य
कपिलवस्तु । हाइड्रोसिलतर्फ १० जना बिरामीको १४ वटा अप्रेशन तथा कुष्ठरोगतर्फ १६ जनाको हात र खुट्टाको सफल अप्रेशन गरिएको आनन्दवन अस्पताल काठमाण्डौका बरिष्ठ सर्जन इन्द्र नापिटले जानकारी दिए । बरिष्ठ सर्जन नापिटका अनुसार देशब्यापी रुपमा कुष्ठरोग तथा हाइड्रोसिल बिरामीको निःशुल्क अप्रेशन गरिएको साथै अन्य देशमा गएर पनि अप्रेशन गरिदैं आइएको छ । सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ दुर्गम स्थानमा रहेका विरामीहरुलाई सहज स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि प्रयासरत रहेको बताए ।
अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा विभिन्न सरोकारवालाहरुसंग अन्तक्र्रिया गरी सोहि शिविरको समिक्षा तथा समापन गरिएको थियो । हाम्रो प्राथमिकताको आधार, अपांगता भएका व्यक्तिहरुको अधिकार भन्ने मूल नाराका साथ उक्त दिवस अन्तर्राष्ट्रिय रुपमा मनाइएको छ ।
युकेआइडी, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, सिएण्डसि अस्पताललगायत विभिन्न संघ संस्थासंग समन्वय गरी द लेप्रोसी मिसन नेपालले घरघरमा गई कुष्ठरोग तथा हाइड्रोसिलका लक्षण देखा परेका व्यक्तिहरुलाई ल्याएर निःशुल्क रुपमा यही मंसिर १३, १४ र १५ गते उपचार तथा अप्रेशन गरिएको थियो । जसमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढिमा बढी रोगीहरु भेटिको तथ्यांकमा उल्लेख छ ।
सुरुमा सानो दाग नचिलाउने, नदुख्ने हुँदा कुष्ठरोग भएको थाहै नपाईने हुँदा यसले छिटो भयावह अवस्था ल्याउने भएकाले नलुकाई उपचारको पहुँचमा जान आवश्यक छ । समाजमा चेतनाको कमी, आर्थिक अवस्था कमजोर, सामाजिक कुरिती, बेवास्ता लगायत विभिन्न कारणले कुष्ठरोग फैलदै गएकाले छिटोभन्दा छिटो उपचार गराई सर्नबाट कम गर्न सकिन्छ ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य निर्देशनालय बुटवलका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले स्वास्थ्य जस्तो संवेदनशील पक्षलाई ध्यानमा राख्नुपर्ने बताए । समाजमा विभिन्न कारणले लुकेका र लुकाइएका बिरामीहरुको पहिचान गरी निःशुल्क रुपमा सफल उपचार गरेकोमा सम्पूर्ण स्वास्थ्यकर्मी, सिएण्ड सि अस्पताल, सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गरेका थिए ।
त्यस्तै विशिष्ट अतिथि सिएण्डसि अस्पतालका डारेक्टर गोपाल घिमिरेले नाफाभन्दा पनि समाजसेवामा तल्लिन रहेको बताए । बिरामीहरुका लागि निःशुल्क रुपमा अस्पतालको सेवा प्रदान गरेका घिमिरेले अस्पतालले यसभन्दा अगाडि पनि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रमका अध्यक्ष द लेप्रोसी मिसन नेपालका कन्ट्रि डाइरेक्टर शोभाखर कंडेलले संस्थाले गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिंदै आफूहरुले काम र नतिजामा मात्र विश्वास गर्ने बताए । कपिलवस्तु जस्तो हरेक कुराले सुविधा भएको जिल्लामा लुकेर रहेका कुष्ठरोग तथा हाइड्रोसीलका बिरामीको संख्या धेरै हुनु दुःखद पक्ष भएको बताए ।
समाजबाट अपहेलित भइने डरले रोग लुकाउँदा अप्रेशन गर्नुपर्ने अवस्थामा आएको कुष्ठरोग भएका व्यक्तिहरुले गुनासो गरेका छन् । द लेप्रोसी मिसन नेपालले विभिन्न संघ संस्थासंग समन्वय गरि सिएण्डसि अस्पताल चार नम्बर जितपुरमा कुष्ठ रोग भई अपांगता भएका र हाईड्रोसिल भएका विरामीको निःशुल्क अप्रेशन तथा उपचार अभियानअन्तर्गत उपचार पाएका बिरामीहरुले रोग लुकाएर बस्न नहुने बताए ।
कार्यक्रममा विभिन्न कारणले १५÷१६ बर्ष सम्म उपचार नपाएको रोगको अहिले निःशुल्क अप्रेशन हुँदा बिरामीहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले आफ्नो अनुभव सुनाउदै सुरुमा खासै चासो नदिएको र पछि यसले भयावह अवस्था निम्त्याउने भन्दै समयमै उपचार गर्न सबैलाई आग्रह गरेका थिए ।
द लेप्रोसी मिसन नेपालका रुपन्देही तथा कपिलवस्तुका डिस्ट्रिक कोर्डिनेटर सुदिप नेपालले सहभागी सरोकारवालका जिज्ञासाको जवाफ दिंदै यी रोगको न्युनिकरणका लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए । साथै यो निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कपिलवस्तुका मोमम्मद इर्फानले जिल्लाका सबै पालिकासंग समन्वय गरेर बिरामी खोज्न विशेष सहयोग गरेका थिए ।
द लेप्रोसी मिसन नेपालका कन्ट्रि डाइरेक्टर शोभाखर कंडेलको अध्यक्षता, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रम द लेप्रोसी मिसन नेपालका रुपन्देही तथा कपिलवस्तुका डिस्ट्रिक कोर्डिनेटर सुदिप नेपालको स्वागत तथा कोपवा स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।