शुद्धोधनमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

१८ मंसिर २०७८, शनिबार
430 shares

तुलसीराम पौडेल
फर्साटिकर । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कपिलवस्तु इन्ट्रिग्रेटेड डेभलपमेन्ट सर्भिसेज केआडीको सहयोगमा शुद्धोधन गाउँपालिका –३ स्थित शंकर माविमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा फर्साटिकर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी तिलोत्तमा अंग्रेजी मावि दोस्रो र भुजौली इङ्लिस स्कुलले तेस्रो स्थान हासिल गरेका थिए । प्रथम हुनेलाई नगद ४५०० रुपैयाँ र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद ३६०० रुपैयाँ र प्रमाणपत्र, तेस्रो हुनेलाई नगद ३६०० रुपैयाँ र प्रमाणपत्र दिइएको शुद्धोधन गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले बताए ।

शंकर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमराज ढकालको अध्यक्षता, शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुद्धोधन गाउँपालिका प्रवक्ता एवं वडा नम्बर–४ का वडा अध्यक्ष राजेन्द्र कंडेल, शुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, शंकर माविका प्रधानाध्यापक टंक पौडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

शुद्धोधन गाउँपालिका शिक्षाशाखा प्रमुख चन्द्रकान्त शर्माको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन शंकर माविका शिक्षक दिपक काफ्लेले गरेका थिए ।