कांग्रेस अधिवेशनः लुम्बिनीमा पौडेल समूहका पुनको अग्रता

मेचीकाली संवाददाता

१९ मंसिर २०७८, आईतवार
425 shares

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनको प्रारम्भिक नतिजामा संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलले अग्रता हासिल गरेको छ ।

सभापतिमा दुई सय ६५ मत गन्दा पुनले १५७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी संस्थापन पक्षका उम्मेदवार भरत कुमार शाहले १०७ मत पाएका छन् ।
त्यस्तै उपसभापतिमा अष्टभुज पाठकले १५०, भुवन प्रसाद श्रेष्ठले १५०, राजु खनालले १०९, सुधाकर पाण्डेले ८२ मत पाएका छन । सदस्यतर्फ पनि पुन प्यानलकै उम्मेदवारहरूले अग्रता लिएका छन् ।

रूपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा सम्पन्न भएको निर्वाचनमा १ हजार ६७० मतदाता मध्ये नेतृत्व चयनका लागि १ हजार ६३१ जनाले मतदान गरेका थिए । प्रदेश नेतृत्वको लागि संस्थापन पक्षबाट संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाह र संस्थापन इतरबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन् ।

यसअघि रुपन्देही जिल्लाको मतगणना हुँदा भएको घटनालाई मध्यनजर गर्दै मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।