शुध्दोधनको दशौं गाउँ सभा सम्पन्न

मेचीकाली संवाददाता

२४ मंसिर २०७८, शुक्रबार
560 shares

नगेन्द्र केसी
भुजौली, मंसिर २४ । रुपन्देही शुध्दोधन गाउँपालिकाको दशौं गाउँ सभा–२०७८ सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुशासन, समृद्धि शुध्दोधन गाउँपालिकाको मुल आधार’ भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो ।

शुध्दोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले पानसमा दिप प्रज्वलन गरि सभाको उद्घाटन गरेका थिए । प्रथम चौमासिक प्रगति प्रतिवेदन २०७८÷०७९ प्रस्तुत गर्दै चौधरीले कोभिडको कारणले विकास निर्माणको काम रोकिएको भएपनि रोकिएका निर्माण कार्य चैत्र मसान्तसम्म पुरा गरिने प्रतिबद्धता जनताए । पालिकाका सबै जनप्रतिनिधि एवम् कर्मचारीहरूले रोकिएका विकास निर्माणका कामलाई छिटो सम्पन्न गर्नका लागि आग्रहसमेत गरे ।

प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीले दशौं गाउँ सभाको प्रथम चौमासिक प्रगति प्रतिवेदन २०७८÷०७९ को शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार विकास निर्माणमा शिक्षा, स्वास्थ्य र कृषिलाई अगाडि बढाइएको बताए । हाल आन्तरिक आय तर्फ गाउँपालिकाको कुल बजेट ५८ करोड ३६ लाख ७७ हजार ४४ रुपैयाँ मध्ये ८ करोड ७० लाख २६ हजार २ सय ४७ रुपैयाँ अर्थात १४.९१ प्रतिशत खर्च भएको क्षेत्रीले बताए । गाउँ सभाले निर्दिष्ट गरेको कार्यक्रम र बजेट तथा निति अनुसार गाउँपालिकाले कार्यान्वयन गर्दै आएको अधिकृत क्षेत्रीले बताए ।

शुध्दोधन गाउँपालिका विधेयक समितिका संयोजक पुन्नेराम गौतम, न्यायिक समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, सार्वजनिक लेखा समितिका संयोजक कमल खड्का लगायतका विभिन्न समितिका संयोजक हरुले आ आफ्नो कामको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा शुध्दोधन–५ का अध्यक्ष राजेन्द्र कंडेल, वडा सदस्य चन्द्रभान चौधरी, शुध्दोधन–४ का वडा सदस्य हेमन्त थापा लगायतले शुभकामना दिएका थियोे । शुध्दोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्षता, गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीको विशिष्ट अतिथिमा र गाउँ पालिकाका सातै वडाका वडा अध्यक्ष, कार्य पालिकाका सदस्यहरु कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।