शान्ति समाजद्धारा बिरोध प्रदर्शन

मेचीकाली संवाददाता

२४ मंसिर २०७८, शुक्रबार
486 shares

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । समाजले बुटवलको राजमार्ग चौराहामा बिरोध प्रदर्शन गरेर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शीघ्र बहिर्गमनको माग गर्दै आधा घण्टा प्लेकार्ड प्रदर्शन गरेको हो । मानवअधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएकाले प्रधानन्यायाधीश जबराले शीघ्र राजीनामा दिनुपर्ने, नभए महाभियोग लगाउन पनि समाजले सम्वद्ध सबै दलहरूलाई आग्रह गरेको छ ।

धर्नालाई सम्बोधन गर्दै बार काउन्सिलका सदस्य अधिबक्ता बाबुराम पाण्डेले न्यायालय शुद्धीकरणका अहिलेको आवश्यकता रहेको बताए । उनले न्यायलयको गरिमा बचाउनुपर्ने बताए। कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल,रुपन्देहीका सभापति डिपी खनाल,जिल्ला सचिव कपिल ज्ञवाली लगायतले बोल्दै अदालतबाट लोकतन्त्रको उपहास भैरहेको बताए ।

न्यायालयको संवेदनशील विषयमा नेपालमा दलहरु मौन रहनु उनीहरुको कमजोरी भएको बताएका छन् ।