बुटवलमा ५० करोड लगानीमा ड्रिम इन्टरनेसनल होटल सञ्चालन

पर्यटन सर्किटमा टूरप्याकेज र विमानस्थल आउजाउको सुविधा

मेचीकाली संवाददाता

२६ मंसिर २०७८, आईतवार
1080 shares

बुटवल । बुटवलमा अन्तराष्ट्रिय स्तरको सेवा सुविधा सहित ड्रिम इन्टरनेशनल होटल प्रा.लि सञ्चालनमा आएको छ । बुटवल–९ स्थित मिलनचोकमा ५० करोड लगानीमा यस क्षेत्रमै पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटल सञ्चालनमा आएको हो ।

करीब ५ कठ्ठा आफ्नै स्वात्विको जग्गामा नेपाली पन झल्किने गरी बनेको यो तीन तारे स्तरको होटल हो । आइतबार संक्षिप्त कार्यक्रमको आयोजना गरि होटलको शुभारम्भ गरिएको छ । सोही अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा होटलका अध्यक्ष गोपाल रानाले होटलको औपचारीक रुपमा शुभारम्भ भएको र सेवा विस्तारका काम पनि जारी राखिएको जानकारी दिनुभयो ।

रानाकै नेतृत्वमा पारिवारिक लगानीमै रुपन्देहीकै तिलोत्तमा मणिग्राममा चार तारे होटल ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट समेत सञ्चालनमा छ । संक्षिप्त कार्यक्रममा होटलका सञ्चालकहरु गोपाल रानासहित विष्णुबहादुर थापा, गीता थापा राना, सुविन थापा, विधानविक्रम राना र सिद्दान्तविक्रम रानाको उपस्थिति थियो ।

के के छन् सुविधा ?
हाल छ तलाको संरचनामा बनेको होटलमा चारवटा स्वीट रुम र बाँकी सुपर डिलक्स रुम सञ्चालनमा छन् । रुमको स्तर र सुविधा थप्ने र विस्तार गर्ने क्रम भने जारी रहेको बताइएको छ । दुई वटा सभाहल रहेका छन् । थप बैठक कक्ष थप्ने सञ्चालकको तयारी छ । त्यस्तै होटलमा डाइनिङ रेष्टुरेन्ट, बार क्याफे तथा ट्यारेस रेष्टुरेन्ट रहेका छन् । कार्यक्रम र फेमिलीका लागि उपयुक्त हुने अलग अलग क्याफे तयार भएका छन् ।
होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने खालको बनाइएको छ । होटेलमा सय जना क्षमताको दुई वटा कन्फेरेन्स÷मिटिङ हल, ग्राउण्ड फ्लोरमा फाइन डाइनिङ रेष्टुरेन्ट, माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेस रेष्टुरेन्ट रहेका छन् । बुटवल उपमहानगरले नमुना वाइपास सडकका रुपमा विस्तार गरिरहेको बुटवलको कालिकापथ सडकको प्राइम लोकेसनमा रहेको होटलमा पर्याप्त पार्किङ स्थलको व्यवस्था छ ।

पर्यटन समृद्धिको आधार हो
प्राकृतिक सम्पदा र मनोरम दृष्यहरुले भरिएको नेपालको समृद्धिको महत्वपूर्ण आधार पर्यटन नै हो । पर्यटनलाई समृद्धिको आधार मानेपछि पर्यटन उद्योगमा सोही अनुरुपको प्रवद्र्धन र विकासको खाँचो रहेको होटलका सञ्चालक रानाको भनाइ छ । कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्था भएपनि यस्तो सधैं नरहने र महामारी एकपटक अन्त्य हुने विश्वासका साथ लगानी जारी राखिएको उहाँले बताउनुभयो ।
‘मुलुकको आर्थिक समृद्धिको दिगो आधार पर्यटन नै हो र पर्यटकका लागि स्तरीय, सुरक्षित सुविधासम्पन्न होटल चाहिन्छ भन्ने आत्मविश्वासका साथ बुटिक होटेलमा लगानी गरिएको हो’ रानाले बताउनुभयो । ‘निजी क्षेत्रबाट होटेल पर्यटनमा जसरी ठूलो मात्रामा लगानी भएको छ, यो लगानीको प्रतिफल प्राप्तिका लागि सरकारले पर्यटनमैत्री नीति बनाउन आवश्यक छ’ रानाले भन्नुभयो ।

पर्यटन सर्किटमा घुमाउने र विमानस्थलसम्म सुविधा
यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुविधा दिने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सञ्चालकले बताएका छन् । होटेलमा आउने आन्तरिक र बाह्य पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, लुम्बिनी, पाल्पाको रानीमहललगायतका स्थानमा घुमाइने भएको छ ।

यहाँका सम्पदाको चिनारी र त्यहाँसम्मको पर्यटन पूर्वाधार विकासमा टेवा पु¥याउनेगरी लुम्बिनी केन्द्रित पर्यटन टुर प्याकेज सञ्चालन गर्ने योजना बनाइएको अध्यक्ष रानाले जानकारी दिनुभयो । होटलमा आउने ग्राहकलाई विमानस्थलसम्म जाने र त्यहाँबाट पिकअप गर्नेसम्मका सुविधा दिने भएको छ ।

होटलका भित्ताहरुहरुको नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुको चित्र राखिएको छ । यसले यहाँ आउने पाहुनाहरुलाई यहाँका विभिन्न पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी हुने अपेक्षा गरिएको छ । होटल व्यवस्थापन सम्बन्धी विषयमा जानकार दक्षजनशक्ति सहित करिब ६० जनाले प्रत्यक्ष रोजगारी पाएको होटलका व्यवस्थापक शरण घलेले जानकारी दिनुभयो ।