हामी प्रतिबद्ध छौं

मेचीकाली संवाददाता

२९ मंसिर २०७८, बुधबार
982 shares

प्रकाशकीय
मेचीकाली सन्देश राष्ट्रिय दैनिक २२ वर्षअघि आजकै दिनदेखि प्रकाशन सुरू भएको थियो । मेचीकाली सन्देशको गौरवपूर्ण वर्षगाँठका अवसरमा मेचीकालीलाई माया गर्ने सम्पूर्णप्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छौं । समुदायको आवाजका रुपमा, राष्ट्रियता र सामाजिक एकताका पक्षमा, जनजीविकामा आइपर्ने अनेकौं कठिनाइको समाधानको शुत्र पत्ता लगाउने एउटा माध्यमका रुपमा पत्रिकालाई अझै पठनीय र स्तरीय बनाउने प्रतिबद्धता पनि यहीँ अवसरमा व्यक्त गर्दछौँ ।

मेचीकाली सन्देश निरन्तर नेपाल सरकारबाट राष्ट्रिय स्तरको ‘क’ वर्गमा सूचीकृत भएको छ र अझ स्तरीय हुने हौसला बढाएको छ । प्रारम्भताका विभिन्न आरोहअवरोह पार गर्दै श्यामश्वेत प्रकाशन हुँदै अहिले यस क्षेत्रमै ब्रोडसिट आफ्नै स्तरीय छपाई मेसिनबाट रंगीन कलेवरमा दैनिक पत्रिका प्रकाशित गरिरहेका छौं । सम्पूर्ण विश्व कोभिड–१९ हुँदै विभिन्न भेरिएन्ट डेल्टा तथा ओमिक्रोनको सन्त्रासमा रोमलिएको छ । कोरोना भाइरसबाट आर्थिक रुपमा परेको असरसँग जुद्धै कोभिड सचेतना र उच्चमनोबलका साथ हामी निरन्तर पत्रिकालाई सबैको चासो, खोजी र भरपर्दो सञ्चार माध्यमका रूपमा विकास गर्नका लागि प्रकाशन सामग्रीमा विविधता ल्याउने हाम्रो प्रयास जारी छ । हामीले पनि डिजिटल प्रविधिलाई पछ्याउँदै अनलाइन न्यूज पोर्टल मेचीकालीन्यूज डटकम सञ्चालनमा ल्याएका छौँ ।

लुम्बिनी प्रदेशको मुकाम, मुलुकको प्रमुख आर्थिक केन्द्र बुटवलबाट हामीले पत्रिका निरन्तर प्रकाशन गर्दै आएका छौँ । स्थानीय पालिका, जिल्ला र समृद्ध प्रदेश हुँदै समृद्ध मुलुक सुखी जनताको संकल्प साकार हुने कुरामा पनि हामी ढुक्क छौं । समृद्धि र जनतामा खुशीयाली ल्याउने काममा समग्र सञ्चार जगत्ले एउटा प्रभावकारी माध्यमको रूपमा काम गर्नुपर्ने दायित्वलाई हामीले भुलेका छैनौं । बरु अनेक नामका माध्यम र शक्तिले बेलाबेलामा देखाउने शंकास्पद गतिविधिलाई राज्यका सम्बन्धित निकायले कानुनी रुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता उत्पन्न भएको हामीले ठानेका छौं ।

राजनीतिक स्थायित्व र संविधानको कार्यान्वयनमा फेरि आशंका उत्पन्न हुनेगरी कोही पनि प्रस्तुत हुनु राम्रो कुरा होइन । जनमानसमा फेरि आशंका, निराशा र आक्रोस देखिन थालेका छन् । छिट्टै नै राजनीतिक रुपमा यावत समस्याहरु समाधान गरी सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नुपर्ने दायित्व राज्यका सबै तहमा छ, जुन अब व्यवहारमै उतार्नुपर्ने छ ।
नेपाली जनताले तीव्रतर विकास र परिवर्तन चाहेका बेलामा अन्यत्र बरालिने छुट कसैलाई पनि छैन । मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको अभियानमा पत्रकारिताको माध्यमबाट दृढताका साथ लाग्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछौँ । मेचीकालीको अनवरत यात्रामा आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने यसका संस्थापक, लगानीकर्ता, कर्मचारी, समस्त पाठकवर्ग, विज्ञापनदाता र शुभेच्छुक सम्पूर्णप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौँ ।

होमराज बश्याल
अध्यक्ष
मेचीकाली सन्देश प्रकाशन प्रा.लि.