पर्यटक भित्र्याउने बुटवलका दुई केबलकार आयोजना

मेचीकाली संवाददाता

२९ मंसिर २०७८, बुधबार
588 shares

रमेश पराजुली
बुटवल । औद्योगिक र शैक्षिक नगरीको पहिचान बनाएको बुटवल पर्यटकीय हबको रुपमा समेत विकास भएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र तथा लुम्बिनी प्रदेशको मुकाम बुटवलमा एक साथ दुई केवलकार सञ्चालनमा आउन लागेका छन् । दुई ठूला ‘प्रोजेक्ट’ ले बुटवललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा लिइएको छ ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेको छ विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रमा पर्यटकको संख्या स्वतः वृद्धि हुनेछ । लुम्बिनी आउने पर्यटकलाई बुटवलसम्म ल्याउन सकेमा यस क्षेत्रको पर्यटन क्षेत्र चलायमान हुने पर्यटन व्यवसायीहरूको भनाइ छ । केबलकार बुटवलको ड्रीम प्रोजेक्ट हो । यसको मुख्य उद्देश्य लुम्बिनी आएका पर्यटकलाई बुटवल ल्याउने र पर्यटन विकासमा टेवा पु¥याउने हो ।

गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केबलकारको शिलान्यास गरेका थिए । त्यस्तै अर्को बुटवलबाटै पाल्पाको नुवाकोट पुग्ने सिद्धार्थ केबलकार प्रालिको गत फागुनमै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शिलान्यास गरेका थिए । यी दुई केबलकार एक साताको फरकमा शिलान्यास भएका हुन् । यी दुवै केबलकार परियोजनाको ‘बेस’ आधार बुटवल र अन्तिम स्टेशन पाल्पा रहेको छ । लुम्बिनी केबलकार प्रालिले बुटवलको बमघाट चिडियाखोलादेखि पूर्वी पाल्पाको बसन्तपुर जोड्नेछ भने सिद्धार्थ केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकैबाट पाल्पाको नुवाकोट गढीसम्मलाई जोड्नेछ ।

बुटवल–नुवाकोट केबलकारका लागि सिद्धार्थ केबलकार प्रालिले डिपीआरलगायतका काम सकेर अहिले तल्लो स्टेशन र माथिल्लो स्टेशनको फाउन्डेसनको कामसँगै ल्यान्ड डेभलपमेन्टको काम गरिरहेको प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले बताए । यसका साथै केबलकार निमार्णका लागि एक हजार दुईसय रुख काटिसकिएको छ भने अहिले केबलकार हिँड्ने बाटोमा पर्ने रुख कटान गर्ने काम पनि जारी रहेको छ ।
फाइनल सर्भे र टावरको स्टेशनको लोकेट भएर फाउन्डेशनको काम सुरू भएको अध्यक्ष गुरुङले बताए ।

‘केबलकार निर्माणका लागि आवश्यक पर्ने दुई लटको सामान भन्सारमा आइसकेको छ । अबको एकदुई महिनाभित्र स्टेशनमा सामान आइपुग्छ ।’ उनले भने । ‘सामान आइपुगेपछि फाउन्डेशनमा जगको काम तत्काल सुरु हुन्छ । कोरोना महामारीले भारतबाट सामान नआएको कारणले निर्माणको काममा केही ढिलो भएको हो । अब कुनै अवरोध नभए १५ महिनाभित्र केबलकार सञ्चालन हुन्छ ।’ अध्यक्ष गुरुङले भने ।

सिद्धार्थ केबलकार प्रालिले २०६८ सालमा केबलकार निर्माणको अभियान अगाडि बढाएको थियो । करिब दुई किलोमिटर लम्बाई रहेको सिद्धार्थ केबलकारमा एकपटकमा ८ जना यात्रु बोक्ने क्षमता भएका २५ वटा गन्डोला रहनेछन् । सिद्धार्थ केबलकार परियोजना ८० करोड लागतमा निर्माण गर्नेगरी काम सुरु भएपनि यसको लागत बढ्न सक्ने अध्यक्ष गुरुङले बताए । ‘कोरोना महामारीका कारण निर्माण सामग्रीको मूल्य बढेको छ । आवश्यक पर्ने अधिकांश सामानहरु बाहिरबाट ल्याउँदा यसको लागत बढ्न सक्छ । केबलकार निर्माण सम्पन्न हँुदासम्म यसको लागत एक अर्ब रुपैयाँ पुग्ने अनुमान गरेका छौँ ।’ अध्यक्ष रानाले भने ।

भूगर्भविद्हरुले अध्ययन गरेपछि मात्रै केबलकार निर्माणको काम अघि बढेकोले बुटवलको पाखापानीलगायतका चुरे क्षेत्रमा खसेको पहिरोले परियोजनालाई असर नगर्ने उनले बताए । ‘आवश्यक पर्ने सपोर्टवाल लगाउने तयारी गरेका छौँ, सुरुको चरणका सबै कामहरु सकेर निमार्णको कामले गति लिएको छ । काममा अन्य अवरोध नभए समयमै केवलकार सञ्चालन गछौँ ।’ उनले भने । केबलकारले नुवाकोटगढी पर्यटकिय गन्तव्यको रुपमा अगाडि बढ्नेछ । ऐतिहासिकसँगै, धार्मिक, प्राकृतिक, सांस्कृतिक महत्वको ठाउँ नुवाकोटमा अन्य पूर्वाधारहरु पनि बनिरहेका छन् । नुवाकोटबाट मनोरम हिमशृंखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृश्य देख्न सकिन्छ ।

त्यस्तै नुुवाकोटमा कालभैरवको मन्दिर, सेनकालीन दरबार, सेनकालीन इनार, काठेदरबार, सेनकालीन भग्नावशेष दरबार नुुवाकोट किल्ला र ग्रामीण परिवेश पर्यटकले अवलोकन गर्न पाउनेछन् । बुटवलदेखि नुवाकोटसम्म केबलकार सञ्चालनपछि विशेषतः पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ भने निजी क्षेत्रबाट पनि नुवाकोटमा ठूलो मात्रामा लगानी भइरहेको छ ।

त्यस्तै राजा माणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवासमेत रहेको छ । नुवाकोटगढी पुग्न सडक निर्माण सम्पन्न भएपछि पर्यटकीय पूर्वाधारहरू निर्माणको कामले पनि गति लिएको छ । नुवाकोटमा भ्यूटावर बनिसकेको छ, सांस्कृतिक डबली दरबार क्षेत्रमा पार्क निर्माणलगायतका संरचना बनिरहेका छन् ।

बुटवल मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि भएको मानव सभ्यताको उद्गमस्थल पनि हो । ऐतिहासिकता र स्थानीय संस्कृतिलाई जोडेर पर्यटन प्रवद्र्धन गर्न लागिएको छ । ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्नेछ । बुटवल क्षेत्र ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेकोले यस्ता ठूला विकासका परियोजनाहरू अगाडि बढाउँदा यस क्षेत्रको महत्व झनै बढ्दै गएको छ ।

त्यस्तै लुम्बिनी केबलकार परियोजना ३ अर्ब ५० करोड लागतमा निर्माण हुँदैछ । यसको कुल लम्बाई तीन किलोमिटर हुनेछ । बटम स्टेशन (बमघाट) देखि टप स्टेशन अर्थात् वसन्तडाँडामा पुग्न १० मिनेट लाग्नेछ । १० मिनेटको यात्रामै तराई, पहाड तथा हिमालको अनुभव तथा दृश्यावलोकन गर्न सकिने कम्पनीको भनाइ छ । यस्तै ९ वटा टावर रहेको केबलकारमा २४ वटा गन्डोला रहने कम्पनीले जनाएको छ ।
लुम्बिनी केबलकार बन्ने वसन्तपुरमा पहिले सिद्धबाबाको मन्दिर रहेको थियो । त्यहाँ दर्शन गर्न मानिसहरू जान अप्ठ्यारो भएपछि सिद्धार्थराजमार्गको नजिकै तिनाउ नदीको किनारामा ल्याइएको इतिहासकाहरू बताउँछन् ।

वसन्तपुरबाट मनोरम हिमशृंखलाका साथै तराईका फाँट र भारतको नौतुनहवासम्मका दृश्य अवलोकन गर्न सकिन्छ । बुटवलमा लुम्बिनीसँग जोडिएर ठूला पूर्वाधार निर्माण भएपछि निजी लगानीकर्ता आकर्षित भएका हुन् । भैरहवा गौतमबुद्ध विमानस्थल र बेलहिया नाका हुँदै लुम्बिनी आउने पर्यटकलाई केबलकारमार्फत पहाडी पर्यटनमा प्रवेश गराउने योजना बनाइएको छ ।

वसन्तपुरमा कामेक्षा मन्दिर निर्माण र १५० कोठासहितको सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्टसमेत सञ्चालन गर्ने तयारी गरिएको छ । बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी एउटा नयाँ धार्मिक गन्तब्य बनाउनुका साथै पार्क, पिकनिकस्थल तथा बाल उद्यानहरु निर्माण गरिने योजना लुम्बिनीको छ । सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटरबीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ । केबलकारको अन्तर्राष्ट्रिय केबलकार उत्पादक तथा परामर्शदाता कम्पनी डोपलमेयर रहेको छ । अन्तर्राष्ट्रियस्तरको केबलकार बनाउन कम्पनीसँग सम्झौता भइसकेको लुम्बिनीले जनाएको छ ।