धेरैले बिर्सिएकी कुनै जमनाकी चर्चित गायिका !

मेचीकाली संवाददाता

३ पुष २०७८, शनिबार
417 shares

बुटवल । कुनै जमनामा ‘बेनीको बजार जता माया उतै छ नरज किरेमिरे जाले रूमाल’ गीत खुब ‘हिट’ थियो । नबोलाउ हातले, बरू बोलाउ पिपलु पातले, किरेमिरे जाले रूमाल बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रूमालले आम जनमानसको जिब्रोमै यो गीतका ‘बोल’ झुण्डिए ।

लाखौं पुराना साधारण नेपालीजन अहिले पनि यो गीत गुनगुनाउँछन् । सबैको मन, मस्तिष्कमा बस्न सफल सदावहार गीतमा स्वर दिने गायिका हुन् मन छन्त्याल भने गीतको सर्जक थिए मन कै श्रीमान् टीका श्रेष्ठ । सर्जक श्रेष्ठको गत चैतमा मृत्यु भइसकेको छ । ७० वर्ष पुुगेकी गायिका मन अहिले छाँयामा छिन् ।

तीसको दशक (२०३१) मा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीत अहिले पनि गीतको ‘क्रेज’ मा कत्ति पनि कमी आएको पाइँदैन । गीतको बोल अरू धेरै गीतमा राखेर ती गीतले चर्चा पाएका छन् । तर, गीतकी वास्तविक गायिका मन भने गायन क्षेत्रभन्दा धेरै टाढा गुमनाम छिन् ।
छन्त्याल अहिले आफ्नै घर रूपन्देहीको बुटवल उपमहानगरपालिका –१२ तामनगरमा बस्दै आएकी छन् । यो गीतसँग छन्त्यालको नाम धेरै ठाउँमा जोडिएर आउँदैन । पछि ‘रिमिक्स’ भएर आएका गीतमा उनीहरुको पहिचान जोडिएको छैन । अहिले आएर आफ्नो गीतलाई रिमिक्स बनाएर बजारमा ल्याउन मनलाई दुःख लाग्छ । ‘सुुरुमा मैले वास्ता गरिनँ । त्यसपछि मलाई कसैले नसोधी मेरो गीतलाई रिमिक्स बनाए । चर्चासँगै पैसा पनि कमाए । अहिले आएर यो त सम्पती रहेछ भन्ने बल्ल बुुझेँ ।’ मनले भन्छिन् ।

मनले विसं. २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन काठमाडाँैको राष्ट्रिय नाचघरमा मन छन्त्यालले समूहमा गीत गाएकी थिइन् । दिवसको अवसरमा सांगीतिक कार्यक्रमको लागि साविक १४ वटा अञ्चलबाटै कलाकारहरुलाई काठमाडौँ बोलाइएको थियो । ‘हामी चाहिँ धौलागिरी अञ्चलबाट छानिएर गएका हौं ।’ मनले भनिन्,‘त्यहाँ हाम्रो समूहले यानीमायाँ, सालैजो, ठाडो भाकाका गीत गाएका थियौं ।’ यो नै उनको सांगीतिक क्षेत्रको पहिलो पाइला थियो ।

मनलाई म्याग्दीबाट काठमाडौँ लगेका थिए टीका श्रेष्ठले । मनको २००८ सालमा म्याग्दीको साविक कुुहिने मंगले गाविसमा जन्म भएको हो । टीका म्याग्दीमा शिक्षण पेशामा थिए । सानैदेखि सांगीतिक क्षेत्रसँग पनि नजिक थिए । काठमाडांैमा कार्यक्रमको लागि कलाकार उपलब्ध गराउन धौलागिरी अञ्चलका अञ्चलाधिसले श्रेष्ठलाई पत्र लेखे ।

साविक धौलागिरी अञ्चलका चारवटै जिल्लाबाट कलाकार छान्नुपर्ने हुन्थ्यो । कलाकारहरु छानेर अञ्चलाधीशकहाँ लैजानुपर्दथ्यो । त्यहाँ गाउँदा राम्रो गरेपछि मात्र काठमाडौँ लैजाने कलाकारहरु छानिन्थे । श्रेष्ठकै नेतृत्वमा मन छन्त्याललगायत अरू जिल्लाका गरी १२ जना जतिको टोली काठमाडौं पुगेर नाचघरमा आफ्नो कला प्रस्तुत गरेको थियो । त्योभन्दा पहिले खासै गीत नगाएकी मन छन्त्यालले त्यसपछि म्याग्दीमा स्कूलका केही कार्यक्रममा गीत गाइन् ।

२०२१ साल र २०२५ सालमा पनि प्रजातन्त्र दिवसको अवसरमा गीत गाउन मन छन्त्याल टीकसहितको टोलीसँग काठमाडौं गएकी थिइन् । टीकासँगको मन छन्त्यालको सम्बन्ध पनि घनिष्ठ हुँदै गयो । अन्ततः बेनीको बजार गीत रेकर्डपछि २०३१ सालमै छन्त्याल र श्रेष्ठले विवाह गरी दाम्पत्य जीवन सुरू गरे । विवाहपछिको एक डेढ वर्ष उनी काठमाडौमै बसेकी थिइन् । एक ठाउँमा सिलाइकटाइ सिक्दै थिइन् । सिलाइकटाई सिकेको ठाउँमा मनको माया लामासँग भेट भयो ।

मन बेलाबेलामा रेडियो नेपालमा गीत गाउन जाने गर्थिन् । त्यहाँ स्वर परीक्षा दिन मान्छेहरु आइरहने गर्थे । मन सम्झिन्छिन, ‘स्वर परीक्षा पास भएमा गीत रेकर्ड गर्न पनि पाइने रहेछ, मैले पनि स्वर परीक्षा पास गरेँ ।’ स्वर परीक्षा पास गरेपछि उनले पनि गीत रेकर्ड गराइन् ।
२०३१ सालमा मनले रेडियो नेपालमा रेकर्ड गरेको गीत थियो ‘बेनीको बजार जता माया उतै छ नजर…..।’ रेकर्ड भएपछि रेडियो नेपालबाट यो गीत त्यस बेला निकै बज्यो । धेरैको मन जित्यो ।

‘रेडियोबाट दिनदिनै त्यो गीत बज्थ्योे । मलाई त आफैँलाई आफ्नो स्वर खासै राम्रो लाग्थेन । मान्छेले पनि खै किन रूचाएछन् ?’ उनी भन्छिन् । रेडियोबाट गीत सुन्दा उनी आफैँ लजाउँथिन् । गीतको संकलनकर्ता उनका श्रीमान् टीका नंै हुन् । बेनीको बजार गीत रेकर्ड गराएबापत मनले ३५ रुपैयाँ पाएकी थिइन् । ‘गीतको पारिश्रमिक पाउन पनि धेरै धाउनुपरेको थियो ।’ उनी अहिले पनि सम्झिछिन् । ‘बेनीको बजार’ पछि मनले ८–९ वटा गीत गाएर रेडियो नेपालमा रेकर्ड गराइन् । एउटा छन्त्याल भाषाको गीत, फूलको माया गाँसेर मायालाई….., फूलबारीमा फूल फूल्यो बोलको, सालैजो भाकालगायतका गीत उनले रेकर्ड गराइन् । तर, बेनीको बजार धेरैको मुख मुखमा झुण्डिने गीत बन्यो । काठमाडौमा एक डेढ वर्ष बसेपछि मन बुटवल झरिन् । यता आएपछि भने उनको सांगीतिक यात्रा अघि बढेन । ‘आर्थिक अवस्था खासै राम्रो थिएन । त्यसबेला गीत गाएर मात्र बाँच्न सक्ने अवस्था पनि थिएन । व्यापार व्यवसाय गर्नुप¥यो ।

बालबच्चा हुकाउन प¥यो । धेरै गीत रेकर्ड नगरेपनि उनलाई पुरानो पुस्ताको गायिकाको रूपमा धेरैले सम्मान गरे । बुटवलका सुरूवात ताकाका मेला महोत्सवमा हुने सांगीतिक कार्यक्रममा मन निर्णायक पनि बसिन् । ‘पुरानो गीत फेरि निकाल्न खोजेछन् ठीकै छ भनियो, अहिले त आफ्नो कलाको धेरै महत्व रहेछ भन्ने लाग्यो ।’ मनले भनिन्,‘रोयल्टी पनि पाइने अवस्था रहेछ । हामीलाई थाहा थिएन । रोयल्टी खोज्दै पनि हिँडिएन, उनीहरुले पनि आऊ भनेनन् ।’ गीतमार्फत म्याग्दी र बेनीबजारलाई चिनाएको भन्दै मन छन्त्याल र टीकालाई सम्मान गर्न बेनी बोलाइयो ।

म्याग्दी जेसीज र म्याग्दी व्यापार संघले बेनीमा महोत्सवको आयोजना गरेका थिए । मनको जोडी मञ्चमा बस्दा बेनीको बजारको रिमिक्स गीत बज्यो । छन्त्याल अचम्मित भइन् । ‘अर्कैको स्वरमा गीत बजेपछि मेरो गीत होइन भनेँ । मैले गाएको गीतको त्यहाँ कुनै चक्का थिएन । बमबहादुर कार्की र खड्क गर्बुजा पनि महोत्सवमा पुग्नुभएको थियो ।’ उनले सम्झिइन, ‘उहाँहरुले रेडियो नेपालमा फोन गरेर मेरो स्वरको गीत बजाउन भन्नुभयो । त्यसपछि महोत्सवमा मैले गाएको गीत बजेको थियो ।’

गीत चर्चाको शिखरमा पुगेको भएपनि मनले पहिले चाहेको समयमा आप्mना गीत सुन्न पाइन्नथ्यो । अचेल भने कहिलेकाहीँ आफ्नोे नातिले उनको गीत सुनाइदिन्छन् । ‘युट्युबबाट सर्च गरेर नातिले गीत लगाइदिन्छ, यो हजुरको गीत भन्छ ।’ उनले सुनाइन् । अहिले जस्तो समय भएको भए निरन्तर लागिन्थ्यो होला । तर पनि खासै पछुतो छैन ।

‘ एउटा गीतले भए पनि केही चिनिने मौका पाएँ, सन्तुष्ट छु ।’ उनले भनिन् । मनका दुुई छोरी छन् । उनको बुुढेसकालमा छोरी साहारा बनेका हुुन् । लामो समयदेखि मिर्गौलापीडित श्रीमान् टीकाको मृत्युुपछि दुुई छोरीहरु आलोपालो माइतीमा आएर मनको रेखदेख गर्छन् ।