इजाजत नपाएका ई–रिक्सा तत्काल हटाउन माग

मेचीकाली संवाददाता

४ पुष २०७८, आईतवार
276 shares

बुटवल । बुटवल उपमहानगरपालिकामा दर्ता भएका ई–रिक्सालाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर हटाउन माग गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ई–रिक्सा इकाइ कमिटीले १ हजार १८ भित्र नपरेका रिक्सा र टेम्पोलाई हटाउन माग गरेको हो ।

कमिटीले १ हजार १८ लाई कार्यान्वन गर्न पटक–पटक विभिन्न चरणबद्ध आन्दोलन गर्दै आएको छ । ई–रिक्सा इकाइ कमिटी, बुटवलका अध्यक्ष कपिल रसाइलीले नगरपालिकाले आफैँले गरेको निर्णय कार्यान्वन गर्न आलटाल गरेको बताए । बुटवलमा अहिले नगरमा रुट इजाजत नलिएका झण्डै दुई हजार रिक्सा चलेका छन् । तिनीहरुको पूर्णरुपमा सञ्चालनमा रोग लगाउन नगरपालिका र कारवाही गर्ने निकाय ट्राफिक प्रहरीले सकेका छैनन् ।

उपमहानगरपालिकाले १ हजार १८ रिक्सा सञ्चालन गर्न २०७६ मंसिरमा ई–रिक्सा सञ्चालन कार्यविधि बनाएको थियो । नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सदस्य ठाकुर गैरेले नगरपालिकाले आफ्नो निर्णय कार्यान्वन नगर्दा बुटवलमा धेरै रिक्साले बजार क्षेत्र नैं कुरुप बनेको बताए । ट्राफिक प्रहरीले पनि दर्ता नभएकाहरुलाई चेकजाँच पनि नगरेको ठाकुरको भनाइ छ ।

१ हजार १८ कार्यान्वन गर्न माग गर्दै नगरपालिका घेराउ, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र, ट्राफिक प्रहरीलाई ज्ञापनपत्र र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइसकेको छ । बुटवलमा आवश्यकताभन्दा बढी रिक्सा हुँदा बजारका भित्री सडकमा अहिले ट्राफिक जामको समस्या थपिएको छ । यसप्रति कसैको ध्यान पुुग्न सकेको छैन ।