लुम्बिनी सहकारीको २५ औं स्थापना दिवस सम्पन्न

मेचीकाली संवाददाता

१० पुष २०७८, शनिबार
549 shares

बुटवल । बुटवल उपमहानगरपालिका–४ राममन्दिर लाइनस्थित लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं स्थापना दिवस शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले सहकारी संस्थाहरुले उत्पानशील क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई स्वरोजगार र उद्यमी बनाउनुपर्ने बताए । ‘आजको सानो बचतले भोलिका दिनमा महत्वपूर्ण काम गर्न सकिन्छ, त्यसैले आजैदेखि आफ्नो आम्दानीबाट थौरै भएपनि बचत गर्ने बानिको विकास गर्नुपर्छ ।’ उनले भने । अभिभावकहरुले पनि आफ्ना बालबच्चाहरुलाई सानैदेखि बचत गर्न प्रोत्साहन गर्नुपर्ने बताउँदै सहकारी संस्थाले शेयर सदस्यहरुलाई उद्यमी बनाउने गरी विभिन्न कार्यक्रम, तालिमहरु आयोजना गर्नुपर्नेमा जोड दिए । त्यस्तै सहकारी संस्थाका कर्मचारीहरुले मुस्कानसहितको सेवा दिनुपर्ने बताए । बैंकमा भन्दा सहकारी संस्थामा रकम जम्मा गर्दा शेयर सदस्यहरुले बढी लाभ लिन सक्ने नेपालले बताए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ववलप्रसाद कसजुले कोरोना महामारी लगायतका अन्य कारणले आर्थिक क्षेत्र कमजोर भएको अबस्थामा सहकारी संस्थाहरुले आर्थिक क्षेत्रलाई चलायमान गराउन भूमीका खेल्नुपर्ने बताए । संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले २०५४ साल पुस १० गते सहकारी संस्था स्थापना गर्दाको कुरा स्मरण गर्दै ३८ जना व्यक्तिहरु मिलेर एकएक लाख रुपैयाँ संकलन गरी ३८ लाख शेयर पूँजीबाट संस्था सुरु गरिएको बताए । हाल संस्थाको शेयर पूँजी १८ करोड ८८ लाख १३ हजार ८ सय रहेकोमा चालू आर्थिक वर्षको अन्त्यमा शेयर पूँजी २० करोड पुराउने लक्ष्य रहेको उनले बताए । हाल बुटवलको बेलबास र देविनगरमा सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आएको संस्थाले अरु ठाउँमा पनि सेवाकेन्द्र बिस्तार गर्ने तयारी गरेको अध्यक्ष श्रेष्ठले बताए । हाल संस्थामा करिब ३ हजार शेयर सदस्य रहेका छन् ।

सञ्चालक सदस्य चन्द्रमान श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, वरिष्ठ साहित्यकार मदन पौडेल, दुर्गा पौडेल, राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय बुटवलका व्यवस्थापक नारायण बेलवासेलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षता, बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालको प्रमुख आतिथ्यता, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ववलप्रसाद कसजूको विशिष्ट आतिथ्यतामा स्थापना दिवस मनाइएको हो । त्यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवलका प्रवन्धक नारायण बेलबासे, सञ्चालक सदस्य डा. हिरण्यलाल ज्ञवाली, वरिष्ठ साहित्यकार दुर्गादेवी पौडेल, बरिष्ठ पत्रकार मदन पौडेल, सामूहिक साकोसका उपाध्यक्ष लक्ष्मण ज्ञवाली, लेखा समिति संयाजक त्रिविक्रम श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै संस्थाले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको लुम्बिनी साहित्य पुरस्कारबाट वरिष्ठ साहित्यकार दुर्गादेवी पौडेललाई सम्मान गरेको छ । त्यसैगरी ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक शेयर सदस्य, उत्कृष्ट बाल बचत, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी र सञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

सञ्चालक सदस्य तथा महिला उप–समितिका संयोजक सुजिता शेरचनको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा सञ्चालक सदस्यहरु, लेखा समिति सदस्यहरु, उपसमितिहरुका पदाधीकारीहरु, शेयर सदस्यहरुहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक विनोदप्रताप राणाले गरेका थिए ।