बेलहियामा बुद्धत्व झल्कने स्वागत द्वार निमार्ण

मेचीकाली संवाददाता

११ पुष २०७८, आईतवार
778 shares

बुटवल । भैरहवाको बेलहिया नजिकै निमार्ण गरिएको स्वागत द्वारको उद्घाटन गरिएको छ । गेटको पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले उद्घाटन गरेका हुन् । गेटमा १० प्रकारका १२ वटा बुद्ध मर्ति राखीएसंगै बौद्ध धर्मगुरुहरुद्वारा पूजापाठ गरिएको थियो । बुद्धत्व झल्किने गेट भएकाले गेटमा १० प्रकारका १२ वटा मूर्ति समेत प्रतिस्थापन गरिएको छ ।

सिद्धार्थनगर–१ स्थित डण्डा खोलाको छेउमा बनाइएको गेट बुद्धत्व झल्कने गरी बनाइएको छ । सिद्धार्थनगर नगरपालिकाले ७ करोड ९ लाख २७ हजार रुपैयाँ लागतमा गेट बनाएको हो । बुद्धभूमि लुम्बिनी प्रबेशका लागी गेट बनाइएको नगरप्रमुख हरिप्रसाद अधिकारी बताए ।

उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य आदित्यनारायण कसौधन, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, बुटवल उपमहानगरपालिकाका मेयर शिव सुबेदी, तिलोतमा नगरपालीकाका उपमेयर जोगेश्वरी चौधरी, पूर्वमन्त्री सन्तोश पाण्डेय, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्मा, सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा काफ्ले लगायतले भनाइ राखेका थिए ।

उक्त गेट निमार्णका लागि सिद्धार्थनगर नगरपालिकाले २०७५ मंसीरमा प्राकृतिक निर्माण सेवासँग गेट निर्माणको ठेक्का सम्झौता गरेको थियो । गेट निर्माण यही २०७८ असार २५ भित्रै सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण ढिलो भएको थियो । गेटमा बुद्धमूर्ति र स्वयम्भूका आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा राखिएको छ । गेट ५० मिटर लम्बाइ, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो छ ।

गेटलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूरले सिगारिएको छ । गेटको डिजाइन पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्ति अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, जनप्रतिनिधि, परामर्शदाता, बौद्ध ज्ञाता र नगरबासीको छलफलमा तयार पारिएको थियो ।