खानेपानी शुद्धिकरण तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया

मेचीकाली संवाददाता

१३ पुष २०७८, मंगलवार
518 shares

पार्वती आचार्य
कपिलवस्तु । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल कपिलवस्तु शाखाको आयोजनामा खानेपानी शुद्धिकरण तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न गरिएको छ ।

बुद्धभूमि नगरपालिका–२ स्थित गोरुसिंगेमा आयोजित अन्तक्र्रिया कार्यक्रममा पानी एक रंगविहीन, स्वादविहीन वा गन्धविहीन तरल पदार्थ रहेकाले यसको शुद्धिकरणमा विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए । बढ्दो शहरीकरण, वितरण क्षेत्रको फैलावट, बस्ती विकासको बदलिँदो स्वरुप, जनसंख्याको तीव्र वृद्धिले गर्दा सुरक्षित खानेपानी तथा सरसफाइको चुनौती थपिँदै गएको समेत कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारकी पर्यटन तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले खानेपानीलाई हरेक सर्वसाधारणको घरघरमा पु¥याउन प्रदेश सरकार लागिपरेकाले पालिकालाई यसतर्फ ध्यान मन्त्रालयले निर्देशन दिएको बताइन् । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी राज्यमन्त्रीले दुर्गम स्थानमा खानेपानीलाई विस्तार गर्न सबैले आ–आफ्नो स्थानबाट लाग्नुपर्ने बताइन् । पालिकाका जनप्रतिनिधिको मागअनुसार मन्त्रालयले बजेट विनियोजन गर्दै आएको उनको भनाइ छ ।

खानेपानीलाई शुद्धिकरण गर्नका लागि र जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने जुनसुकै संघ संस्थालाई मन्त्रालयले बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । राज्यमन्त्री नेपालले एक घर एक धाराको अवधारणा पुरा गर्नका लागि सबैले सहयोग गर्न आवश्यक भएको बताइन् ।

यस्तै लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले एक घर एक धाराको संकल्प प्रदेश सरकारले सुरु गरेको बताएका छन् । सांसद पन्थीले पालिकाहरुले खानेपानीमा विस्तारै बजेट विनियोजन गर्न लागेको बताए । साथै उनले तराईको सीमा क्षेत्रका नागरिकको चेतनामा कमी भएकाले ओभरहेड ट्यांकी खानेपानीको पहुँचसम्म लैजानुपर्ने बताए । खानेपानी आयोजना निर्माणको काम गर्दा एकीकृत योजना बनाएर दिर्घकालीन रुपमा अगाडि बढ्न आवश्यक रहेको बताए ।

धेरै रकम खर्चेर निर्माण गरेका खानेपानीका आयोजना अन्य भौतिक विकास निर्माणका कामले क्षेती गर्ने हुनाले यसतर्फ प्रदेश सरकार पालिकाहरुको ध्यान पुग्नुपर्ने बताए । उनले कपिलवस्तुमा शुद्ध खानेपानी नभएकाले हैजा आउनु दुःखद रहेको बताउँदै खानेपानी उपभोक्ता महासंघले गरेको कार्यक्रम उल्लेखनीय रहेको बताए । सांसद पन्थीले खानेपानीबाट लाग्ने रोगबाट बच्न र खानेपानीलाई शुद्धिकरण गर्न सम्पूर्ण उपभोक्ता सचेत हुन आवश्यक रहेको बताए ।

यसैगरी विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले गाउँपालिकामा शुद्ध खानेपानी उपलब्ध गराउनका लागि गाउँपालिकाले विभिन्न योजना बनाएको बताए । उनले विजयनगर गाउँपालिका लुम्बिनी प्रदेशकै पछाडी परेको गाउँपालिका रहेकाले खानेपानी मात्र नभई हरेक क्षेत्रमा विकासको खाका तयार पार्दै अगाडी गएको बताए ।

उक्त कार्यक्रममा कलिवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मीगुप्ता साव, महाराजगञ्ज नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रामनन्दप्रसाद कहार, खानेपानी महाशाखाका प्रमुख धु्रब धिताल, खानेपानी डिभिजन कार्यालयका प्रमुख कमल पन्त, खानेपानी महासंघका केन्द्रिय सदस्य कमला न्यौपाने, नेपाल पत्रकार महासंघका कार्य समिति सदस्य पार्वती आचार्यलगायतले बोल्दै मानव जीवनका लागि पानी महत्वपूर्ण भएको हुँदा खानेपानी शुद्धिकरणलाई व्यवस्थापन गर्न सबैले सहयोग पुराउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम शाहले खानेपानी शुद्धिकरण, व्यवस्थापन तथा सरसफाईमा सबैले ध्यान दिनुपर्ने बताए । कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद गर्दै सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउन संस्था लागि परेको बताए ।

कार्यक्रम खानेपानी उपभोक्ता महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष राजेन्द्रविक्रम शाहको अध्यक्षता, संघका उपाध्यक्ष राधिका पन्तको स्वागत तथा संघका जिल्ला सचिव धर्मराज गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयतहका प्रमुखहरु, खानेपानी उपभोक्ता महासंघमा आबद्ध प्रतिनिधिहरु र सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।