ड्राइभरटोलमा द एसआर होटल सञ्चालन

मेचीकाली संवाददाता

१५ पुष २०७८, बिहीबार
463 shares

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ ड्राइभरटोल सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भूमिमा’ भन्ने मूल नाराका साथ ६ जनाको सामूहिक लगानीमा सुविधासम्पन्न ३२ कोठासहितको द एसआर होटल इभेन्ट्स प्रालि सञ्चालनमा आएको हो ।

हस्पिटालिटी सेवामा समाजका विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित युवाहरुको संयुक्त लगानीमा १२ कठ्ठा जग्गामा ५७ करोड लगानीमा नेपाली पन झल्किने गरी बनेकोे होटलको बिहीबार संक्षिप्त कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ । सोही अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा होटलका अध्यक्ष होमकान्त बस्याल (शंकर) ले होटलको औपचारिक रुपमा शुभारम्भ भएको जानकारी दिए । होटलको गुणस्तर तथा सुविधा र सेवा विस्तारका काम पनि जारी रहेको उनले बताए ।

भारतीय सिमासँग जोडिएकोले भारत तथा तेस्रो मुलुकका पर्यटकहरुलाई आकर्षित गर्नसके पर्यटन पवद्र्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा लुम्बिनी प्रदेशले उल्लेख्य टेवा पु¥याउने उनले बताए । रुपन्देहीमा पहिलोपटक स्वायल टेस्टिङ गरी निर्माण गरिएको भूकम्प प्रतिरोधी होटलको ग्राउण्ड फोलरमा जम्वालय फाइन डाइनिङ रेष्टुरेन्ट रहेको छ । जहाँ एकैपटकमा ५० जना भन्दा धेरैलाई सेवा दिन सकिन्छ । जम्वालयसँगै तीनवटा जलापिनो प्राइभेट डाइनिङ क्याविन रहेका छन् । त्यस्तैसँगै रहेको कफी बारमा गुल्मीको अर्गानिक कफी विन्सको स्वाद लिन पाइनेछ ।

होटलमा एउटा आरामदायी वातानुकुलीत प्रेसिडन्टल स्वीट रुम, दुईवटा स्वीट रुम, तीन वटा सुपर लग्जरी डिलक्स रुम, १८ वटा सुपर डिलक्स रुम, ८ वटा डिलक्स गरी जम्मा ३२ वटा कोठा रहेका छन् । होटलको पाँचौँ तलामा स्वदेशी तथा विदेसी परिकार पेयपदार्थसँगै औपचारीक कार्यक्रम गर्न मिल्ने वातानुकुलीत कन्फ्रेन्स हलसमेत रहेको छ भने छैटौं तलामा ओपनरुफटप रहेको छ । जहाँबाट तिलात्तमा र बुटवललगायतको आकर्षक हरियाली शहरसहित रुपन्देही, पाल्पा, नवलपरासीका मनमोहक चुरे पहाडसँगै लुम्बिनी, भैरहवा, गौतमबुद्ध विमानस्थल तथा दक्षिणी भेगमा भारतको नौतनुवासम्म अवलोकन गर्न सकिन्छ ।

होटलमा स्विमिङ पुल, जिम, स्पाको समेत तयारी भइरहेको छ । यसका साथै ५ वर्षभित्रमा होटलको सेवालाई एकसय वेडभन्दा बढी क्षमतामा विस्तार गर्ने र दश वर्षमा देशका सातै प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र शहरहरुमा होटलका कम्तीमा ७ वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

होटलको शुभारम्भसँगै सुरुका १५ दिनलाई होटलमा आउने पाहुनाहरुलाई ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । कार्यक्रममा होटलका संस्थापक अध्यक्ष मधुकर शर्मा, सञ्चालक सदस्य टेकनाथ बस्याल, पशुपति प्रधान, निश्चल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । होटलका सञ्चालक सदस्य केशव भण्डारीको स्वागत र कम्पनी सचिव चिरन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।