चिटिक्क बनेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु

मेचीकाली संवाददाता

१७ पुष २०७८, शनिबार
1111 shares

पार्वती आचार्य
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले गरेको कामले लक्ष्य लिएर अगाडी बढे अवश्य सफल भइन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । पछिल्लो समय दैनिकी संगै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको परिषरमा धेरै परिवर्तन देखिएको छ । लक्ष्य अनुसारको कार्यले यस आर्थिक वर्ष ०७८÷०७९ मा धेरै कार्यहरु सम्पादन भएका छन् ।

कार्यालय भित्र खाने पानीको लागि फिल्टर सहितको फ्रिज जडान गरिएको छ । नागरिक सहायक कक्षका लागि बेन्चहरुको व्यवस्थापन गरिएको, आपतकालिन आगलागि हुने घटनाहरुलाई नियन्त्रणका लागि अग्नी नियन्त्रणग्यास राखिएको छ । कार्यालयको गोलघर भित्र बिभिन्न घटनाहरुको समसामयीक बिषयलाइ समेटेर जनचेतना मूलक होडिङ् बोर्ड राखिएको छ । आन्तरिक र वाहय सेवा ग्राहीहरुका लागि सहज होस भन्ने उद्देश्यले चमेना गृह संचालन गरिएको छ । यस्तै महिला तथा वालबालिका सेवा केन्द्रमा स्तनपान तथा पीडीत मैत्री कक्षको समेत व्यबस्था गरिएको छ ।

यस्तै २०५३ सालमा निर्माण भएको मुख्य प्रशासनिक भवनलाई मर्मत संभार गरिएको छ भने मुद्दा शाखालाई स्तरउन्नती गर्दै आवश्यक कागजहरु सहज रुपमा खोज्न सकियोस भन्ने उद्देश्यले शाखालाई फर्निसिङ गरिएको छ । यसैगरी कार्यालयले संचार शाखा लगाएतका बिभिन्न शाखाहरुलाई साधन श्रोत सहित व्यबस्थापन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

यसैगरी बिभिन्न अपराधिक अभियोग लागेका नागरिकहरुलाई अनुसन्धानका लागि प्रहरीको अनुसन्धानमा रहुञ्जेलका लागि महिला तथा पुरुषहरुका लागि व्यवस्थित हिरासत गत भदौ देखि संचालनमा ल्याईएको छ । अनुसन्धानमा राखिएका नागरिकहरुलाई मानसिक तनाव नहोस भन्ने उद्देश्यले हिरासत कक्षमा पुस्तकालय, टिभीको समेत व्यबस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

यस्तै कार्यालयले आन्तरिक तर्फ समेत सुधार गर्दै आएको छ । जसमा कार्यालय भित्र कार्यरत प्रहरी कर्मचारीहरुका लागि अन्यत्रदेखि सरुवा भएर आउँदा बिस्तार बोक्न नपरोस भन्ने उद्देश्यले एक प्रहरी एक बिस्ताराको व्यवस्था गरिएको छ । प्रहरीले संचालन गरेको मेसमा परिवर्तन आएको छ डिउटी बाट ढिला आउँदा खाना चिसो नहोस भन्ने उद्देश्यले मेसमा हटपोटको व्यबस्था गरिएको छ । साथै कम्पाउण्ड बाउन्ड्री, नुहाउनका लागि एक्ट्रा ५ वटा पानीका धाराहरु जडान भएका छन् भने टेबुल टेनिस र ब्याडमिन्टन कोटको व्यबस्था छ ।

यती मात्र होईन प्रहरीले बिभिन्न मुद्दामा संलग्न भई घटना पश्चात फरार रहेका व्यक्तीहरुलाई जिल्ला अदालतबाट फैसला भई कैद तथा जरिवान तोकिएका ब्यक्तीहरुलाई पक्राउ गर्न सफल भई ठुलो सफलता प्राप्त गरेको छ । जिल्ला अदालतबाट बिभिन्न मुद्दाहरुमा कैद तोकिएका ५ सय ५४ जना ब्यक्तीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाईएको छ । जसमा १ सय ८३ बर्ष ११ महिना ३ दिन कैद सजाए तोकिएको छ भने रु. ३२ लाख ५ सय १९ रुपैंया जरिवाना असुलि भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यसैगरी जिल्ला प्रहरी कार्यालयबाट मातहतका सबै प्रहरी ईकाईहरु तथा गस्तिमा खटिने प्रहरीसंग संचार सम्पर्कका लागि रिपीटर नेटवर्क मार्फत सबै स्थानमा संचार सम्ंपर्क हुने व्यवस्था ल्याईएको छ । जिल्ला प्रहरी कार्यालयमा भए जस्तै परिवर्तन जिल्ला मातहतका सबै प्रहरी ईकाईहरुमा समेत भएको देख्न सकिन्छ । त्यसको पृष्ठभूमिमा जिल्ला प्रहरी कार्यालयले ३÷३ महिनामा मुल्यांकन हुने गरी संचालन गरेको अन्तर ईकाई कार्य सम्पादन प्रतियोगिताले गर्दा र प्रहरी कमाण्डरहरुको सक्रियतामा संभव भएको प्रहरी प्रमुख कार्कीले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले फरार अपराधिहरु पक्राउ गर्नमा जिल्ला प्रहरी कार्यालयले यस आर्थिक बर्षमा संचालन गरेको अपराधिक पक्राउ कार्यक्रमको माध्यमले लुम्बिनी प्रदेशमै सबै भन्दा फरार पक्राउ गर्ने जिल्ला कपिलवस्तु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । यस अभियानलाई निरुन्तरता दिई फरार प्रतिवादीहरु पक्राउ गरी शुन्यमा ल्याउने लक्ष्यमा कटिवद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कार्कीले बताए ।