पाल्पा बस दुर्घटनाः जो मलामी जाँदै थिए, आफैँ रहेनन् !

मेचीकाली संवाददाता

१९ पुष २०७८, सोमबार
426 shares

बुटवल । घुम्तीमा चालकले गाडी मोड्न नसक्दा बुटवलबाट शव बोकेर रिडी जाँदै गरेको बस आइतबार पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर २ मा दुर्घटना हुँदा ७ जनाको अकालमै ज्यान गएको छ । बुटवल–१७ रानीगञ्जका ७० वर्षका बीरबहादुर विश्वकर्माको शव दाहसंस्कारको लागि गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल धार्मिक तीर्थस्थल रिडी लैजादै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पा–तम्घास सडक खण्डअन्तर्गत पर्ने लघुवामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मलामी गएका गाडीमा सवार ३५ जनामध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १५ जना घाइते छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । गाडी सडकबाट ५५ मिटर तल खसेको थियो । दुर्घटनामा अर्घाखाँची मालारानी गाउँपालिका वडा नम्बर २ का २५ वर्षीया शंकर विक, सोही ठाउँका ३६ वर्षका मोहन कुँवर, सोही ठाउँका २८ वर्षका भोजेन्द्र विक, ३३ वर्षका अर्जुन विक, रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ३२ वर्षका विजय थापा, बुटवल–११ कैं ३० वर्षका पशुपति रसाइली, बुटवल–११ कैं अर्का खुमबहादुर थापा रहेका छन् । मृतकमध्ये ४ जनाको शव गाडीले च्यापिएको अवस्थामा थियो । एक्जाभेटरले गाडी हटाएर ती शव निकालिएको प्रहरीले जनाएको छ ।

पशुपति वीरबहादुरका छोरा हुन् । वीरबहादुको इच्छाअनुसार उनको दाहसंस्कारको लागि बुटवलबाट झण्डै १०० किलोमिटर टाढा रिडीतर्फ गाडी जाँदै गरेको छ । बाबाको चाहना पूरा अन्ततः आफैँ रहेनन् । त्यस्तै वीरबहादुरका दुई छोरीहरु पनि घाइते भएका छन् । बुटवलबाट बिहान साढे ७ बजे हिँडेको गाडी पौने ११ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले चालक सकुसल रहेकोले उनलाई नियन्त्रणमा लिइएको बताए । ‘घुम्ती, चिप्लो र ओरालो सडकमा चालकले मेसो नपाउँदा दुर्घटना भएको जस्तो देखिन्छ । विस्तृत अनुसन्धान हुँदै छ ।’ त्वाँतीले भने ।

पाल्पा–गुल्मी सडक साँघुरो छ । त्यो ठाउँ धेरै दुर्घटनाग्रस्त क्षेत्र हो । दुर्घटनामा बुटवल–१७ का ३८ वर्षका विशाल रसाइली, सैनामैना–६ का ३१ वर्षकी मिरा रामदास, सोही ठाउँका श्यामबहादुर विक, बुटवल–१७ ४५ वर्षका धनबहादुर सुनार, अर्घाखाँची पाणिनी–१ का ५४ वर्षका गोपाल नेपाली, अर्घाखाँची छत्रकोट–३ का ४३ वर्षका लालबहादुर विक, मालारानी–२ का ३७ वर्षका रमेश टोहटो, तिलोत्तमा– १४ का ४५ वर्षकी दिलमाया सुनार, सोही ठाउँकी ४५ वर्षकी तारा सुनार रहेका छन् ।

यसैगरी यस्तै अर्घाखाँची, मालारानी २ का ३९ वर्षका तुल्सीराम विक, सोही ठाउँका २२ वर्षका दीपक विक, बुटवल–१२ का ४८ वर्षका माधवप्रसाद बस्याल, मालारानी–२ का ४० वर्षका अर्जुन रसाइली, सोही ठाउँकै ३५ वर्षका लक्ष्मण टोहटो, सोही ठाउका २७ वर्षका विष्णु विक रहेका छन् । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास र मिसन अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते यात्रु थम्मन पचभँैयाले पहाडमा नचलाएको चालकलाई गाडी चलाउन दिँदा दुर्घटना भएको बताए । ‘म गाडीको बीच भागतर्फको सिटमा बसेको थिएँ ।’ घाइते पचभँैयाले भने,‘ठूलो बस, चालकले पहाडमा कहिल्यै चलाएका छैनन् भन्थे । जब बाटो ओरालो आयो चालक ‘होपलेस’ भए । गाडी हेर्दा हेर्दै सडक छाडेर ढल्यो ।’ बसमा यात्रा गरेका घाइते कृष्णबहादुर नेपालीले ओरालो बाटो र शीतले भिजेर चिप्लो र घुम्ती चालकले अलमल पर्दा दुर्घटना भएको हुन सक्ने बताए ।

तर, प्रहरीले चालकले पहाडमा चलाएको हो कि होइन भन्ने आफूलाई जानकारी नभएको त्वाँतीले बताए । चालक पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ का ५८ वर्षका रुक्मांगत बस्याललाई प्रहरी नियन्त्रणमा छन् । उनी दुर्घटनाको १ घण्टापछि आफैँ प्रहरी कार्यालय पुगेका थिए । दुर्घटनापछि अहिले बुटवल १७ रानीगञ्ज र अर्घाखाँचीको मालारानी शोकमा डुबेको छ ।