राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया

मेचीकाली संवाददाता

२० पुष २०७८, मंगलवार
953 shares

पार्वती आचार्य
कपिलवस्तु । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया तथा समन्वय बैठक जिल्ला प्रशासन कार्यालय तौलिहवामा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको हो ।

कपिलबस्तुमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्थानिय तहहरुमा गएर अभियानको रुपमा सुरु हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले बताएका छन् । कपिलबस्तुको तौलिहवामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया तथा समन्वय कार्यक्रममा सो कुरा बताएका हुन ।
महानिर्देशक भट्टराईले “कपिलबस्तु जिल्लामा सुरु हुने अभियानमा सक्रियता पूर्वक आआफ्नो पालिकामा गएर फोटो खिचाउन र विवरण दिन अनुरोध गरे ।” जसलाई ई पासपोर्ट आवश्यक छ त्यसलाई जिल्ला प्रशासनमा र जसलाई ईपासपोर्ट आवश्यक छैन् त्यसले पालिका वडामा आउने आभियानमा सहभागि हुने उनले बताए ।

नेपालको ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालय तथा अन्य २० इकाई स्थापना गरी नागरिकका विवरण कार्य भइरहेको छ । हाल सम्म ५२ लाख ब्यक्तीका विवरणहरु प्राप्त गरि केन्द्रिय भण्डारणमा सुरक्षा गरी सकिएको बताए । जिल्ला प्रशासन कार्यालयमा रहेको इकाई र ५२ जिल्लामा अभियान संचालन गरी यो आर्थिक बर्षमा ७० लाख नागरिकको विवरण राष्ट्रिय परिचय सूचना व्यवस्थापन प्रणालीमा आवद्ध गर्न अभियानको सुरुवात गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका महानिर्देशक भट्टराईले बताए । १ करोड भन्दा बढी पु¥याउने लक्ष्य रहेको छ ।
जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले जिल्लामा शुरु हुने राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियानलाई सफल पार्न सबै लाग्नु पर्ने बताए । राष्ट्रिय परिचयपत्र नागरिकता सरह भएको हुँदा परिचयपत्र विवरण दर्ताकालागि आउने कर्मचारीहरुलाई नगरपालिका, गाउँपालिका र वडाहरुबाट पुर्ण रुपमा सहयोग हुने बताए ।

सम्पूर्ण स्थानियतहको तर्फबाट महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले परिचयपत्र विवरण दर्ता अभियानलाई सफल पार्न नगरपालिकाबाट पूर्ण सहयोग हुने प्रतिबद्धता गरे ।
यस्तै घटना दर्ताको बिषयमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, शिवराज नगरपालिकाका गणेश प्रसाद अर्याल , मायाँदेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सीना , यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंह लगाएतले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा दश स्थानियतहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, समन्वय अधिकारी, प्रहरी प्रमुख र संचारकर्मीहरु लगाएतको उपस्थिती रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको सहजी करणमा सम्पन्न भएको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग सिंहदरबार काठमाडौंको जायोजना र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सह आयोजना रहेको थियो । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान केही दिनमा शुरु हुने छ र सो को शुरुवात बाणगंगा नगरपालिाकाबाट शुरु हुने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।